काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश निर्माणको लागि सबल र निर्णायक राष्ट्रिय शक्ति आवश्यक रहेको बताएका छन्।
अनेरास्ववियु केन्द्रीय कमिटीको पूर्ण बैठकलाई बुधरबार सम्बोधन गर्दै ओलीले नेकपा एमाले सबल राष्ट्रिय शक्ति भए पनि निर्णायक राष्ट्रिय शक्ति नबनेको बताए।
२०८४ को निर्वाचनमा नेकपा एमालेलाई सबल राष्ट्रिय शक्तिबाट निर्णायक सुदृढ राष्ट्रिय शक्ति बनाउनु पर्ने उनले बताए। ‘अरू राष्ट्रिय शक्ति बन्न सक्दैनन्, एमाले राष्ट्रिय शक्ति बन्नुपर्छ’, ओलीले भने।
कार्यक्रममा बोल्दै ओलीले सुखी नेपाल समृद्ध नेपालको लागि नेकपा एमाले नै सत्तामा पुग्नु पर्ने बताए। त्यसको लागि पार्टी एक भएर अघि बढ्नुपर्नेमा ओलीले जोड दिए।
ओलीले सबैभन्दा महत्त्वपूर्ण कुरा एकता नै भएको बताउँदै संगठन र पार्टीलाई एकताबद्ध बनाएर अघि बढाउनु पर्ने बताए।
त्यसको लागि विचार प्रमुख विषय भएको उनले प्रष्ट पारे। लक्ष नतोकी हिँडियो भने गन्तव्य निश्चित नहुने उनले बताए।
‘सँगै हिँड्दा बल हुन्छ, उछिनपाछिन गर्दा बल हुँदैन, अनेकता हुँदा बल हुँदैन, एकता हुँदा बल हुन्छ’, उनले भने।
चुनावदेखि चुनावसम्म, पददेखि पदसम्मको राजनीति देश र जनताको लागि हितकर नहुने ओलीले बताए। अहिलेको अवस्थाबाट उन्नत र समृद्ध समाज निर्माण गर्ने कुरा राजनीतिक लक्ष हुनुपर्नेमा उनले जोड दिए।
अहिले नयाँ नयाँ भन्ने दल र नेता निस्किएका बताउँदै ओलीले गत साल नै पार्टी खोलेकाहरू पनि अब पुराना हुँदै गएका बताए।
सडकमा जम्मा भएका मानिसलाई हात उठाउन लगाएर सांसदको उम्मेदवार बनाएकाहरूले गठबन्धनको वितृष्णबाट दिक्क भएका जनताको मत लिन सफल भएका ओलीको टिप्पणी छ। उनीहरूको कुनै गन्तव्य तथा राजनीतिक लक्ष र उद्देश्य नभएको ओलीले स्पष्ट पारे।
झिल्के मिल्के कुरा गरेर दिगो राजनीति गर्न नसकिने ओलीले बताए। राजनीतिको लागि दिगो सोच र लक्ष हुने पर्ने ओलीको धारणा छ।
एमाले केही पनि होइन भन्ने दक्षिणपन्थी शक्तिलाई एमालेले राम्रो जवाफ दिएको ओलीले बताए। एमालेको शक्ति देखेर दक्षिणपन्थीले गम खाएका उनको भनाइ छ।
ओलीले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको लागि आवेदन दिने मध्य राम्रा मान्छेलाई फालेर आफ्ना आसेपासेको नाम सर्ट लिस्टमा निकालिएको भन्दै ओलीले आलोचना गरे।
विश्व विद्यालयलाई राजनीतिमुक्त गर्छु भन्दै खोक्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वविद्यालयको उपकुलपति नियुक्तिमा घोर राजनीति गरेको उनले प्रष्ट पारे।
एमालेबाहेक अन्य कुनै पनि शक्तिले सुखी नेपाली समृद्ध नेपालको अभिभारा पूरा गर्न नसक्ने उनले बताए। अन्य दलले सुखी नेपालीको कुरै गर्न नसक्ने ओलीको भनाइ छ। समृद्धि र क्षणिक खुसीले मात्र सुख प्राप्त नहुने उनले प्रष्ट पारे।
Shares
प्रतिक्रिया