नेकपा एमाले केन्द्रीय कमिटी बैठक फागुन ८, ९ र १० गते बस्ने भएको छ।
पार्टी केन्द्रीय कार्यालय च्यासल ललितपुरमा बिहीबार बसेको सचिवालयको बैठकले सो निर्णय गरेको पार्टी महासचिव शंकर पोखरेलले बताए। बैठक पार्टी केन्द्रीय कार्यालयमा बस्ने भएको छ।
बैठकमा राजनीतिक स्थितिको समीक्षा, संगठनात्मक प्रतिवेदन, संगठन शुद्धीकरण र सुदृढीकरणसम्बन्धी विशेष कार्ययोजना निर्माण गरिने महासचिव पोखरेलले सञ्चारकर्मीलाई जानकारी दिए।
पार्टीलाई कस्तो ढाँचाबाट अझ व्यवस्थित गर्न सकिन्छ भन्ने विषयमा पनि बैठकमा छलफल हुने पोखरेलले बताए।
‘बलियो राष्ट्रिय शक्तिका रूपमा पार्टीलाई स्थापित गर्न पार्टीले जुन योजना अगाडि बढाएको छ, त्यो योजना कार्यान्वयनका लागि पार्टी निर्माणको योजना बनाउने विषयमा छलफल गरिने छ’, उनले भने।
यसबीचमा वर्तमान गठबन्धन सरकारको कारण राष्ट्रिय हित र जनसरोकारका प्रश्नमा तथा सुशासनका प्रश्नमा गम्भीर विचलन आएको पोखरेलले बताए।
यसविरुद्ध जनपरिचालन गर्ने विषयमा बैठकमा छलफल गरी निर्णय हुने उनले जानकारी दिए।
‘मुलुक आर्थिक संकटउन्मुख भइरहेको अवस्थामा राष्ट्रिय हित र जनसरोकारका विषयमा जनपरिचालन गर्ने र दबाब दिने एजेण्डा तयार गर्ने निर्णय गरेको छ’, उनले भने।
मिसन ग्रासरुट पछाडि पार्टीले तयार गरेको वार्षिक कार्यक्रमको प्रगति प्रतिवेदन पेस गरेर त्यस माथि पनि छलफल गरिने पोखरेले बताए।
कार्ययोजन अनुसार गरिएका कामको पनि बैठकमा समीक्षा हुने उनले जानकारी दिए।
समृद्धिका लागि सङ्कल्प यत्रका क्रममा पार्टीले तयार गरेको प्रतिवेदनको सन्दर्भमा पनि बैठकमा छलफल हुने उनले बताए।
प्रतिवेदनको आधारमा मध्यपहाडको समृद्धिको लागि पार्टीको अवधारणा बैठकले तयार गर्ने उनले जानकारी दिए।
पार्टीमा प्रवेश गर्ने र पार्टीको अधिवेशन पछि जिम्मेवारीबाट बिदा भएका अगुवा नेताहरू व्यवस्थापनको विषयमा पनि बैठकमा छलफल गरी निर्णय गरिने उनले जानकारी दिए।
त्यस्तै पार्टी केन्द्रीय कार्यालय भवन निर्माणका लागि पार्टी सदस्यबाट न्यूनतम एक सय रुपैयाँ संंकलन गर्ने अभियानको एजेण्डा पनि बैठकमा लैजाने उनले बताए।
आजको बैठकले पार्टीका विभिन्न विभागका सदस्य मनोनित गरिएको पनि पोखरेलले जानकारी दिए।
उनले पार्टी केन्द्रीय प्रचार विभाग सदस्यमा माधवप्रसाद नेपाल, इन्द्रप्रसाद आचार्य र मोहन बास्तोलालाई मनोनीत गरिएको बताए।
एमाले अहिले सत्ता राजनीतिको खेलमा नरहेको उनले स्पष्ट पारे। पोखरेलले जनसरोकारका मुद्दाको अगुवाइ गर्ने पार्टीको रूपमा नेकपा एमाले स्थापित हुनुपर्छ भन्ने मान्यतामा एमाले रहेको प्रष्ट पारे।
Shares
प्रतिक्रिया