नेकपा माओवादी केन्द्रले केही पदाधिकारीलाई दिएको जिम्मेवारी फेरबदल गर्ने भएको छ। सात महिनाअघि सो पार्टीले उपाध्यक्ष, उपमहासचिव र सचिवहरुलाई संगठनको नेतृत्व दिएको थियो।
बिहीबार बिहान ११ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने स्थायी समिति बैठकले तिनै नेताहरुको जिम्मेवारी फेरबदल गर्न लागेको हो।
भदौदेखि पुस १५ सम्म माओवादी रुपान्तरण अभियान चलेको थियो। सो अभियानका बेला पदाधिकारीहरुलाई प्रदेश, पार्टी र प्रवासको जिम्मेवारी दिएको थियो।
१० जना पदाधिकारीलाई ७ भूगोल र तीन अन्य गरी १० प्रदेश इन्चार्ज बनाएर खटाएको माओवादीले स्थायी समिति सदस्य र केन्द्रीय सदस्यलाई जिल्लाको इन्चार्ज बनाएर पठाएको थियो।
अब त्यसलाई फेरबदल गर्न स्थायी समिति बैठक राखिएको हो। उपमहासचिव गिरिराजमणि पोखरेलका अनुसार बैठकका लागि तीन एजेन्डा तय गरिएका छन्। पहिलो, विधानलाई अन्तिम रुप दिने, दोस्रो, पदाधिकारीको जिम्मेवारी फेरबदल र तेस्रो, अभियानको कार्यतालिका बनाउने।
माओवादीको १–३ फागुनमा काठमाडौँमा भएको विधान अधिवेशनले कतिपय नयाँ व्यवस्था गर्ने निर्णय गरेको छ।
२२ सदस्यीय पदाधिकारी घटाएर ११ जनाको बनाउनेदेखि केन्द्रीय समिति निर्वाचित हुने र निर्वाचित समितिले पदाधिकारी चयन गर्ने लगायतका व्यवस्था विधानमा गरिएको छ।
‘विधान अधिवेशनमा सहभागीले दिएका सुझाव समेटेर अन्तिम रुप दिइन्छ,’ पोखरेलले भने, ‘प्रदेश इन्चार्जको दिइएको जिम्मेवारी हेरफेर गर्ने निर्णय स्थायी कमिटी बैठकले गर्छ।’
साउन २१ गते बसेको माओवादीको पदाधिकारी बैठकले ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’का लागि नेताहरूको नयाँ जिम्मेवारी तोक्ने निर्णय गरेको थियो। त्यसलाई त्यही दिन बसेको केन्द्रीय समिति बैठकले अनुमोदन गरेको थियो।
जसअनुसार उपाध्यक्ष कृष्णबहादुर महरालाई पार्टी एकता र समाजवादी मोर्चा, अर्का उपाध्यक्ष अग्निप्रसाद सापकोटालाई प्रचार प्रसार र पम्फा भुसाललाई जनसंगठन हेर्ने जिम्मेवारी दिइएको थियो।
कोसी प्रदेशमा चक्रपाणि खनाल, मधेसमा लीलामणि पोखरेल, बागमतीमा जनार्दन शर्मा, गण्डकीमा देवेन्द्र पौडेल, लुम्बिनीमा हितमान शाक्य, कर्णालीमा मातृका यादव र सुदूरपश्चिम प्रदेशमा डिलाराम आचार्य इन्चार्ज छन्।
उपत्यका विशेषमा वर्षमान पुन र सम्पर्क विशेषमा गिरिराजमणि पोखरेल इन्चार्ज छन्।
यसैगरी, राम कार्की प्रवास प्रदेशको इन्चार्ज छन्।
पार्टीलाई गतिशील गराउने योजनासहित माओवादीले जिम्मेवारी दिँदा नेताहरुलाई आफ्नो निर्वाचन क्षेत्रभन्दा अलग स्थानमा खटाएको थियो। नयाँ भूगोल र प्रदेशको जिम्मेवारी दिँदा पार्टीका सदस्यहरु सक्रिय भएको उनीहरुको विश्लेषण छ।
माओवादीले चैत १ गतेदेखि १५ गतेसम्म तराई-मधेश हुलाकी मार्ग अभियान र वैशाख १ गतेदेखि १५ गतेसम्म हिमाल-पहाड-तराई जनजागरण अभियान चलाउँदैछ। अभियानको कार्यतालिका पनि बिहीबार बस्ने स्थायी समिति बैठकले तय गर्ने छ।
Shares
प्रतिक्रिया