प्रतिनिधि सभाको इलाम–२ र सुदूरपश्चिम प्रदेश सभाको बझाङ–१ (क) मा आगामी वैशाख १५ गते उपनिर्वाचन हुँदै छ।
यीमध्ये इलामको चुनावमा देशव्यापी चासो छ। संविधान सभाका अध्यक्ष एवं पूर्वसभामुख सुवास नेम्बाङले जित्दै आएको क्षेत्रमा उनको निधनपछि एमालेको विरासत कायम रहला कि नरहला भन्ने एउटा जिज्ञासा छ। प्रदेशको नामकरणपछि पहिचान पक्षधरका तनावपूर्ण गतिविधिले चुनावमा केकस्तो असर गर्ला भन्ने अर्को सवाल छ।
त्यस क्षेत्रमा चुनाव प्रभावित पार्न सक्ने अर्को पनि पक्ष छ। त्यो हो, किराँतका धर्मगुरु आत्मानन्द लिङ्देनको आशिर्वाद अब कसलाई रहला त?
इलाम–२ को विरासत
इलाम–२ एमालेका स्वर्गीय नेता सुवास नेम्बाङको क्षेत्र हो। पाँचौपटक लगातार सोही क्षेत्रबाट निर्वाचित नेम्बाङको गत भदौ २६ मा हृदयाघातका कारण निधन भएपछि सो क्षेत्र रिक्त छ।
नेम्बाङको जितका पछाडि मुख्यतः तीनवटा पक्ष थिए।
एक, उनको राष्ट्रिय छवि। केन्द्रीय नेतृत्वलाई प्रभाव पार्न सक्थे। उनी कहिल्यै चर्को बोलेनन्। विपक्षीलाई समेत चिढ्याउने व्यवहार गरेनन्। भद्र मिजास र समन्वयकारी भूमिकाले उनलाई समर्थन जुटाउन र टिकाउन काम गरेको थियो।
दुई, एमालेको बलियो संगठन। पूर्वी पहाडमा एमाले र कांग्रेस मुख्य प्रतिस्पर्धी हुन्। तर निकै प्रतिकूल अवस्थामा पनि यस क्षेत्रमा एमालेले जितेको छ। जस्तो कि २०७० सालको चुनावमा एमालेबाटै प्रभावशाली नेताहरू अशोक राईदेखि युवा नेता अजम्बर काङमाङसम्मले पहिचानको एजेन्डा बोकेर विद्रोह गरेका थिए र एमालेलाई हराउने अभियान चलाएका थिए। तर, त्यस्तो बेला पनि नेम्बाङले एमालेबाट जित हात पारेका थिए। २०७९ को चुनावमा त झन् तत्कालीन सत्ता गठबन्धन (कांग्रेस–माओवादी) सँग एमाले एक्लैले प्रतिस्पर्धा गर्नुपरेको थियो।
तीन, आत्मानन्दको आशिर्वाद। यही निर्वाचन क्षेत्रमा पर्छ, किराँत धर्मगुरु आत्मानन्द लिङ्देनको वासस्थान र किराँतीहरूको धार्मिक आस्थाको केन्द्र, मांसेवंगु। आत्मानन्द लिङदेनलाई महागुरु फाल्गुनन्दकै अवतार मान्ने गरिएको छ। उनकै समर्थन प्राप्त गरेका कारण पनि गत निर्वाचनसम्ममा नेम्बाङको जित सम्भव भएको त्यस क्षेत्रका बासिन्दा विश्वास गर्छन्।
आत्मानन्दले अब कसलाई पत्याउलान्?
कोसी प्रदेशमा पहिचान पक्षधरको रापताप अहिले पनि चलिरहेकै छ। कुनै बेला बेग्लै जातीय राज्यको मागले अशान्त बनेको त्यस क्षेत्रमा अहिले प्रदेशको नामलाई लिएर वाद–विवाद चलिरहेको छ।
प्रदेश सभाको दुई तिहाई बहुमतले अनुमोदन भएको नामको स्वामित्व लिन हस्ताक्षरकर्ताहरू नै हच्किइरहेका छन्। सत्तामा हुँदा एउटा र प्रतिपक्षमा बस्दा अर्कोथरी बोल्नेहरूलाई आफ्नो राजनीतिक स्थान कहाँनिर सुरक्षित छ भनेर हिसाब गर्न गाह्रो भइरहेको छ।
त्यस क्षेत्रमा निर्विवादजस्तै देखिएका पूर्वसभामुख नेम्बाङको अनुपस्थितिमा अब किराँत धर्मगुरुको समर्थन कसलाई रहला भन्ने चासोको विषय बनेको हो।
५ हजार भोटको प्रभाव
यो निर्वाचन क्षेत्रमै पर्छ, किराँत धर्मगुरु आत्मानन्द लिङ्देनको वासस्थान र किराँतीहरूको धार्मिक आस्थाको केन्द्र, माङसेबुङ। माङसेबुङ गाउँपालिका–५ स्थित लारुम्बा भन्ने ठाउँमा धर्मगुरु लिङ्देनको वास छ। उनको जन्म सोही गाउँपालिका–२ इभाङको चुक्चिनाम्बा अगौटेबारीमा भएको थियो।
विसं २०११ मंसिर १८ मा जन्मिएका लिङ्देनका अनुयायीहरू यस क्षेत्रमा ठूलो संख्यामा छन्।
उनको जन्मोत्सवसमेत यहाँ भव्य रूपमा मनाउने गरिन्छ। २०७६ सालमा रक्षामन्त्री हुँदा एमाले नेता ईश्वर पोखरेल हेलिकोप्टर चढेरै उनको जन्मोत्सव समारोह उद्घाटनमा पुगेका थिए।
त्यसको एक वर्षअघि तत्कालीन उपप्रधानमन्त्री उपेन्द्र यादव पनि उनकै जन्मोत्सवमा आयोजित कार्यक्रममा सहभागी भएका थिए।
रोचक कुरा त, निर्वाचनका बेलामा प्रायः नेताहरू उनै धर्मगुरु लिङ्देनको आशिर्वादका लागि पुग्छन्। ०७९ वैशाखमा सुवास नेम्बाङ त आफ्ना पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई नै लिएर गएका थिए। पछि मंसिरमा भएको चुनावका क्रममा त झन् नेम्बाङ नपुग्ने कुरै थिएन। बरु उनीसँगै एमालेकै प्रदेश सभा उम्मेदवारहरू गणेश बराल र राम रानासमेत आशिर्वादको अपेक्षा लिएर गएका थिए।
रोचक पक्ष
यहाँको राजनीतिमा धर्मगुरुको प्रभाव बुझाउने अझै अर्को पक्ष छ। राईको बसोबास भएको वडा नम्बर–५ हो। गत स्थानीय तहको निर्वाचनमा यस वडामा राष्ट्रिय जनमुक्ति पार्टी प्यानलसहित विजयी भएको थियो।
वडाध्यक्ष निर्वाचित भए– नरेन्द्रकुमार राई। सो वडामा खसेको १ हजार २ सय ३३ मतमध्ये राईले ८ सय ३७ मत ल्याएका थिए। तर, सोही क्षेत्रबाट प्रतिनिधि सभा निर्वाचन उठेका राष्ट्रिय जनमुक्तिका उम्मेदवार खड्गप्रसाद पालुङ्वाले भने १ हजार २ सय १२ मत मात्रै पाए। अर्थात्, संघीय सांसदले ल्याएको मतलाई टक्कर दिने गरी वडाध्यक्ष राईले ८ सय बढी मत कटाएका थिए।
वडाध्यक्ष राई कांग्रेस, माओवादी र जसपासहितको संयुक्त गठबन्धनबाट चुनाव उठेका थिए।
माङ्सेबुङमा ६ वटा वडा छन्। ६ मध्ये स्थानीय निर्वाचनमा नेकपा एमालेले चार वटा वडामा जित हात पारेको थियो। एउटामा माओवादी केन्द्रले झण्डा गाड्यो। तर, यहाँ एमालेले आफ्नो प्रतिद्वन्द्वी मैदानमै उतारेन। यसको कारण पनि उनै धर्मगुरु लिङ्देन थिए।
‘पहिलो कार्यकाल उहाँ (राई)ले गुरुकै चाहनामा चुनावै लडेर जित्नुभयो, दोस्रो कार्यकालमा उहाँले नै उम्मेदवारी दिएपछि अन्य राजनीतिक दलले उम्मेदवारी नै दिएनन्,’ एक स्थानीय नेताले भने।
धर्मगुरु आत्मानन्दकै सम्मानमा अन्य दलले उम्मेदवार तय नगरेको अहिले पनि त्यहाँ चर्चा हुने गर्छ। किराँत धर्मावलम्बीहरूले आत्मानन्दलाई संरक्षकको रूपमा मान्दै आएका छन्।
चुनावको एक दिन अघिसम्म भेउ पाउन मुस्किल
धार्मिक आस्था त एउटा विषय रह्यो, उनीहरू सबै धर्मगुरुसमक्ष आशिर्वाद लिन पुग्नुको कारण भने भिन्नै छ। इलामको राजनीतिक गतिविधिसँग जानकार एक नेताका अनुसार, धर्मगुरु आत्मानन्दको प्रभावमा कम्तीमा ५ हजार भोट छ। चुनावको एक दिन अघिसम्म पनि त्यो भोट कसले पाउँछ भन्ने भेउ पाउन मुस्किल हुन्छ।
धर्मगुरुले कुनै राजनीतिक दल वा नेतालाई खुलेर समर्थन पनि गर्दैनन्। यही शैलीका कारण पनि उनीप्रति धेरैको आस्था कायम रहन सकेको हो।
आसन्न उपनिर्वाचनमा पहिचान पक्षधरहरूले आफ्नो छुट्टै उम्मेदवार खडा गर्ने बताउँदै आएका छन्। यदि यहाँ किराँत समुदायको प्रतिनिधित्व हुने गरी उम्मेदवार तय भएको खण्डमा त्यसले राजनीतिक दललाई प्रभाव पार्न सक्ने नेताहरूको विश्लेषण छ।
‘पहिचान पक्षधरका गतिविधिको मुख्य प्रभाव एमालेलाई पर्छ, सँगसँगै कांग्रेस र माओवादीलाई पनि पर्छ,’ एक नेताले भने, ‘तर, इलाममा पार्टीप्रति प्रतिबद्ध मत ठूलो छ। पहिचानको आन्दोलन उत्कर्षमा पुगेका बेलासमेत मूलधारकै दलले जितेका कारण यसपालि ठूलो असर नपर्न सक्छ।’
लामो समयदेखि पार्टीमै आबद्ध रहेका मतदाता धेरै रहेकाले पनि पहिचान पक्षधरले धेरै मत नपाउने इलामको राजनीतिसँग नजिक रहेका अर्का एक नेता बताउँछन्। तर, धर्मगुरुको ‘पोल्टा’मा रहेको भोटबारे भने अहिले नै यसै भन्न नसकिने उनको भनाइ छ।
‘उहाँले फलानो नै भनेर भन्नुहुन्न, चुनावी माहोल हेरेपछि अन्तिममा निर्णय लिनुहुन्छ,’ उनले भने।
कस्तो पर्ला असर?
इलाम–२ मा इलाम नगरपालिकाको १० नम्बर वडाबाहेक, देउमाई नगरपालिका, माई नगरपालिकाका वडा नं ६, ७ र ८, चुलाचुली, माङ्सेबुङ र फाकफोथुम गाउँपालिका पर्छन्।
यहाँ एक लाख २ हजार ९ सय ८५ मतदाता छन्।
गत स्थानीय तहको निर्वाचनमा देउमाईमा नगर प्रमुख, अनि फाकफोकथुम र माङ्सेबुङमा गाउँपालिका अध्यक्ष एमालेले जितेको थियो। यी स्थानीय तह एमाले बलियो मात्र होइन, नेम्बाङलाई जिताउन निर्णायक मत खस्दै आएको थियो।
वैशाखको उपनिर्वाचनमा नेम्बाङ पुत्र सुहाङ पनि सोही क्षेत्रबाट उठ्ने चर्चा छ। सुहाङले पनि पार्टीले टिकट दिए आफू खुट्टा नकमाउने बताइसकेका छन्।
यही क्षेत्रमा पर्ने चुलाचुली गाउँपालिका पनि एमालेको बलियो पकड भएको क्षेत्र मानिन्थ्यो। तर, यो गाउँपालिकासँग जोड्ने रतुवा पुल नेम्बाङले पाँचपटक जित्दा पनि नबनाएको भन्दै स्थानीयमा असन्तुष्टि पाइन्छ।
एकातिर पहिचान पक्षधरको एमालेलक्षित आक्रमण, अर्कोतर्फ केन्द्रको राजनीतिमा पहुँच बनाउँदा पनि विकास निर्माण नगरेको भन्ने स्थानीयको आरोपले एमालेलाई असहज हुन सक्ने स्थानीय अगुवाहरूको आकलन पनि छ।
यसअघि सुवास नेम्बाङसँग झीनो मतान्तरले चुनाव हारेका कांग्रेसका डम्बरबहादुर खड्काले पनि उपनिर्वाचनको तयारी थालेका छन्। उनी निर्माण व्यवसायी पनि हुन्।
नेम्बाङलाई हराउन उल्लेख्य पैसा खर्च गरेको आरोप लागेका खड्का पार्टीभित्र भने त्यसपछि विस्तारै आलोचित बन्दै गएका छन्। पराजयपछि आफ्नै दलका नेतालाई ‘भौतिक आक्रमण गर्ने र अनुशासनको कारबाही गर्ने’ भन्दै सार्वजनिक अभिव्यक्ति दिएका कारण उनको आलोचना हुने गरेको छ।
विभिन्न सार्वजनिक कार्यक्रममा पार्टी सभापतिविरुद्ध उत्तेजित भाषण गर्दै हिँडेको आरोप उनीमाथि लागेको छ।
त्यस्तै, गत निर्वाचनमा देशका विभिन्न भागमा अप्रत्यासित उपस्थिति जनाएको रास्वपाले यस क्षेत्रमा उम्मेदवार उठाउँछ कि उठाउँदैन र उठाइहाले कस्तो उम्मेदवार पाउँछ भन्ने कुराले पनि नतिजामा असर गर्न सक्छ।
यही क्षेत्रबाट माओवादी छाडेर स्वतन्त्र उठ्ने तयारीमा छन्, मिलन लिम्बू। उनले पार्टीको विकल्प खोज्ने क्रममा यसपटक स्वतन्त्र उठ्ने तयारीमा लागेको नेपालखबरलाई बताए।
पहिचान पक्षधरले एमालेमाथि केन्द्रित गरेको आक्रमण, कांग्रेसको आन्तरिक लफडाका बीच उनी किराँत पक्षधरको भोट तान्ने कसरतमा छन्।
मिलनको परिवार पनि धर्मगुरुको अनुयायी हो। तर, राजनीतिक दलहरूको बलशाली उपस्थिति रहेको यस क्षेत्रमा पहिचानको ‘अस्त्र’ प्रयोग गरेर चुनाव जित्न उनलाई पनि सहज भने छैन।
Shares
प्रतिक्रिया