र्याप गाएर आफ्नो पहिचान बनाएका बालेन शाहको उदय एकाएक नेताका रुपमा भयो। युवा जमातमा लोकप्रिय बालेन स्थानीय निर्वाचनमा उम्मेदवारीपछि चर्चाको शिखरमा रहे। बालेनले काठमाडौँका टोल–टोलमा गएर भेटघाट गर्दा भोट मात्रै मागेनन्, आफ्ना योजना पनि सुनाए। उनका कुरा सुनेर सबैभन्दा धेरै युवा प्रभावित भए। काठमाडौँमा भोट हाल्न नमिल्नेहरूले पनि उनको पक्षमा अभियान चलाए।
पहिलो पटक भोट हाल्न तयार भएको युवाले बालेनलाई वचन दिए, ‘दाइ हाम्रो भोट तपाईंलाई नै हो। हामी आमाबुवा, दाइदिदीलाई पनि तपाईंलाई नै भोट हाल्नुस् भनेर सम्झाउँछौँ।’
बालेनले चुनाव जित्दै गर्दा काठमाडौँबासीमा महानगरप्रति धेरै आशा थिए। तर, उनले काठमाडौँ महानगरको बागडोर सम्हालेको २ वर्ष पूरा भइसक्दा उनीप्रति आशाको नजरले हेर्नेहरूमध्ये थुप्रैको आँखामा वितृष्णा भरिएको छ।
काठमाडौँ महानगरका मेयर बालेनको कार्यशैलीलाई लिएर सामाजिक सञ्जालमा आलोचना भैरहेका छन्। तर, व्यक्तिगत रुपमा उनकै अगाडि उनको कार्यशैलीलाई लिएर प्रश्न गर्ने कम छन्। त्यसो गर्ने एक पात्र हुन् महानगरकी कार्यपालिका सदस्य अनिता कार्कीढोली। नेकपा माओवादी केन्द्रसँग आबद्ध उनी महानगरको वडा नम्बर ३१ को प्रतिनिधित्व गर्छिन्। उनले बालेनलाई गरेको प्रश्न सामाजिक सञ्जालमा भाइरल भयो।
आज हामीले उनै काठमाडौँ नगर कार्यपालिका सदस्य अनिता कार्कीढोलीको नजरबाट बालेनको शासन नियाल्ने प्रयत्न गरेका छौँ।
अनिताको धारणा उनकै शब्दमा
हाम्रा मेयरमा हामीले बहुतै फरक केही अपेक्षा गरेका होइनौँ। कानुनभन्दा माथि कोही छैन। हरेकले कानुन मातहत रहेर विधिको शासन गर्नुपर्छ। उहाँले मेयरको उम्मेदवारी दिँदै गर्दा आम मान्छेले जसरी काठमाडौँ पूरै कायापलट नै भैहाल्छ भनेर सोचेका थिए, त्यो खालको अपेक्षा हाम्रो होइन। उहाँमा उर्जा छ, केही गरौँ भन्ने भावना पनि छ। हामीले २ वर्षसम्म उहाँलाई सहयोग पनि गरेका हौँ। उहाँको क्षमतालाई प्रयोग गर्ने स्पेस दियौँ। उहाँको कार्यशैली हेर्यौँ। अब पनि उहाँले विधिमा टेकेर चाल्ने हरेक कदममा साथ दिन तयार छौँ।
तर, उहाँका सबै क्रियाकलाप हेर्दैगर्दा उहाँले आफूलाई विधिभन्दा माथि, कानुनभन्दा माथि राखेर प्रस्तुत हुनुभयो कि भन्ने अनुभूति हामीले गरेका छौँ। मैले त्यही अनुसार उहाँलाई सुझाव दिएको हो।
कार्यशैलीगत रुपमा भन्नुपर्दा हाम्रो मेयरज्यूको स्वभाव एकाङ्गी छ। जनप्रतिनिधि भनेको जनताको प्रतिनिधि हो। जनताको आवश्यकता अनुसार हामीले जोकोहीसँग पनि सहज भएर कुरा सुन्न र घुलमिल हुन सक्नु पर्छ। जनप्रतिनिधि भनेकै जनताको बीचमा गएर हेलमेल हुनुपर्ने हो। तर, उहाँमा त्यो देखिएन। उहाँ समुहमा होइन् एक्लै हिड्न रुचाउने मान्छे हो।
हामीसँग पनि उहाँको दैनिक भेटघाट हुँदैन। बैठकमा भेट हुन्छ। त्यहाँ पनि उहाँसँग हाम्रो दोहोरो कुरा हुन मुस्किल छ। बैठकमा उहाँ आउनु हुन्छ, आफ्नो कुरा राख्नु हुन्छ, जुरुक्क उठेर हिँड्नुहुन्छ। कार्यपालिका सदस्यहरूसँग त दोहोरो कुराकानी हुन मुस्किल छ, भेटघाट हुन मुस्किल छ भने महानगरका कर्मचारीसँग कत्तिको भेट होला, कत्तिको कुरा सुन्ने र सुनाउने वातावरण होला, सहजै अनुमान गर्न सकिन्छ। अझ सेवाग्राही तथा नगरबासीहरूले त सामाजिक सञ्जालमा उहाँका स्टन्ट हेर्ने मात्रै हो। आफ्ना कर्मचारी, सेवाग्राहीका कुरा सुन्ने र कार्यान्वयन हुने अपेक्षा कम राख्दा हुन्छ।
उहाँले ल्याउनु भएको एजेन्डा नगरबासीसँग जोडिएका छन्/छैनन्, नगरबासीको विकास र समृद्धिसँग गाँसिएका छन्/छैनन् भनेर हामीले हेर्ने हो। उहाँले ल्याएका एजेन्डा नगरबासीको हितसँग जोडिएका छन् भने व्यक्तिले ल्याएको एजेन्डा भन्ने नै हुँदैन। उहाँले प्रस्तुत गर्नुभएको एजेन्डा हेरेर छलफल हुने र पारित हुने गर्छ। तर, जसरी छलफल र पारित भएको हुन्छ कार्यान्वयन हुनेबेला त्यहाँ उहाँको शैली हाबी भैदिन्छ।
काठमाडौँ महानगरका सडक व्यापारी व्यवस्थापनलाई लिएर पनि कयौँ पटक छलफल भएका छन्। महानगर सुन्दर होस्, सबैको चाहना हो। फेरि यहाँ रहेका हरेक मानिसले बाँच्न पाउनु पनि उनीहरूको अधिकार हो। कसैको रोजीरोटी खोसेर छरिएको सुन्दरताको के अर्थ रहला? उनीहरूलाई विकल्प दिऊँ, विकल्पसहित छलफलमा जाऊँ भन्ने कार्यपालिकाको एक मत हो। तर, उहाँको भनाइ पहिला हटाऊँ, त्यसपछि विकल्प दिऊँ भन्ने छ। हाम्रो क्षेत्राधिकारभित्र रहेको कुरालाई विकल्प दिन जरुरी छैन भन्ने मेयरको बुझाइ छ।
फुटपाथ कहाँ छैन र? विश्वभरिका सहरमा फुटपाथ व्यवसायी छन्। व्यवस्थित तरिकाले सञ्चालन गरेका छन्। हामीले पनि गर्नुपर्ने त्यही हो। हाम्रो क्षेत्राधिकार हो भन्दै मान्छेको गाँस, बास, कपास खोस्ने अधिकार हामीलाई छैन। कानुनी राज्यमा राज्यका संरचनालाई बलियो बनाएर जनतालाई सुशासनको प्रत्याभूति गराउनु पर्ने हो। आम मान्छेले हाम्रा मेयरलाई चुनेको पनि कसैको दबाबमा नपरी हाम्रा लागि काम गर्नुहोला भनेर नै हो जस्तो लाग्छ। तर, त्यो अपेक्षा गर्ने शैलीका कारण निराशामा परिणत हुँदै गएको छ।
राज्य होइन नेता खराब भन्ने उहाँको धारणा छ। एक हिसाब ठिकै पनि होला। उहाँले यही सोचमा टेकेर नेता, राजनीतिक दलमाथि आक्रोश पोखिरहनु भएको हुन्छ। यो उहाँको स्वभावजन्य समस्या हो। यो व्यवस्था ल्याउन उहाँको कहीँ कुनै योगदान देखिएको छैन। जुन चिजमा योगदान छैन, त्यो चिजको माया नहुनु स्वाभाविक हो। राजनीतिक दल, नेतृत्व, परिवर्तन हुन जुन प्रकारको त्याग, बलिदान र योगदान गर्नु पर्थ्यो त्यो भन्दा फरक पृष्ठभूमिबाट आएको कारणले गर्दा उहाँमा राजनीतिक दल र नेतृत्वप्रति सकारात्मक हेराइ छैन। फेरि पनि एक्लै केही गर्न सकिँदैन, यो बुझ्नु जरुरी छ।
उहाँका सल्लाहकार पनि विषयविज्ञहरू नै हुनुहुन्छ भन्ने सुनिन्छ। बाहिरबाट हेर्दा केही सल्लाहकार त्यस्तै पनि देखिन्छन्। तर, विषयविज्ञ भएर मात्रै पर्याप्त हुँदैन, यहाँको वस्तुगत आवश्यकता र अलिकति राजनीति बुझेको मान्छे चाहिन्छ। उहाँको टिम अपरिपक्व रहेछ भन्ने छनक महानगरले गरेका निर्णय जसरी उल्टिरहेका छन्, विवादमा परिरहेका छन्, त्यसले पनि पुष्टि गर्छ। यो सब हुनुको कारण उहाँका सल्लाहकारको अपरिपक्वता हो।
आर्थिक पारदर्शिताका हिसाबले उहाँलाई सकारात्मक रुपमा हेर्नु पर्छ। अहिलेसम्म अनियमितताका कुरा आएका छैनन्। भोलि थाहा छैन, आजसम्म यो पाटोमा उहाँलाई राम्रो मान्न सकिन्छ।
उहाँको कार्यशैलीलाई लिएर हामीले पनि सुझाव दिन नसकेको कुरा स्वीकार गर्नु पर्छ। उहाँलाई प्रश्न गर्न सक्ने मानिस कार्यसमितिमा पनि छैनौँ। हरेक पटक कार्यपालिका बैठकको प्रत्यक्ष प्रसारण हुन्छ। त्यहाँ को कति बोल्छन्, कसले उहाँको कार्यशैलीमाथि प्रश्न उठाउँछन् भन्ने कुरा आम मान्छेले देखेका छन्। यहाँ मैले त्यसबारे विस्तृत भनिरहनु जरुरी छैन।
यो विषयमा सबैभन्दा धेरै बोल्नु पर्ने वडाअध्यक्षले हो। तर, उहाँहरू केही बोल्नु हुन्न। यसको अर्थ हामीले मेयरलाई बेलगाम घोडा जसरी छोडिदिएका छौँ। उहाँको कार्यशैलीमा समस्या हो। तर, यो गलत हो भनेर औँला उठाउने कोही छैन। त्यसैले पनि उहाँले सच्चिने मौका पाउनु भएन कि! २ वर्षको कार्यकालमा मै मात्र त्यो मान्छे हुँ, जसले उहाँको कार्यशैलीप्रति प्रश्न गर्यो।
त्यसको जवाफमा पनि उहाँको लामो स्टाटस आयो सामाजिक सञ्जालमा। त्यो बाहेक अरु केही भएन। त्यो प्रश्न पनि नीति र विधिमा रहेर काम गर्नु पर्छ भनेर मात्रै भनिएको थियो। त्यसप्रतिको उहाँको प्रतिक्रिया भनेको त्यही सामाजिक सञ्जालमा आएको दुई पेज लामो स्टाटस मात्रै रह्यो।
उहाँलाई मेरा सुझाव
पहिलो कुरा उहाँले आफ्नो कार्यशैली सुर्धानु पर्यो। उहाँ व्यक्ति भएको भए त्यति धेरै चासो राख्नु जरुरी थिएन। उहाँ संस्था हो। संस्थाको प्रतिनिधित्व गरिसकेपछि उहाँले सबैजनासँग समन्वय र सहजीकरण गर्नु जरुरी छ। त्यो गरिदिनु भयो भने बाँकी भएको ३ वर्षे कार्यकालमा धेरै राम्रा काम गर्न सकिन्छ। उहाँलाई टिमले पनि सहयोग गर्छ।
दोस्रो कुरा, निर्णय गर्ने कुरामा अलि बढी परिपक्व भएर गर्नुपर्यो। क्षेत्राधिकारबाहिर गएर त उहाँले काम गर्नु भएको छैन। तर, क्षेत्राधिकारभित्र पनि कतिपय कानुनी प्रावधानहरू छन्। त्यसलाई राम्रोसँग अध्ययन गरेर त्यो अनुसारको निर्णय गर्ने हो भने महानगरलाई अझै व्यवस्थित गर्न सकिन्छ।
उहाँ निर्वाचित भएर आउँदै गर्दा हामीले जुनप्रकारको वाहवाही देखेका थियौँ, उहाँको जुन व्यक्तित्व थियो, जस्तो खालको काम गर्ने स्पिरिट देखाउनुभएको थियो, त्यो हेरेर हामी पनि उत्साहित थियौं। धेरै राम्रा काम गर्न सक्छौँ भन्ने सपना देखेका थियौँ। थोरै कार्यशैलीलाई सुधार्न सक्नु भयो भने उहाँमा आम मानिस र हामीले पनि देखेको सपनाको सम्भावना अझै बाँकी छ।
Shares
प्रतिक्रिया