ad ad

राजनीति


राज्य व्यवस्था समितिमा अमरेशको प्रश्न : सेना सुरक्षा निकाय हो कि ठेक्कापट्टा र भोजभतेर गर्ने?

 राज्य व्यवस्था समितिमा अमरेशको प्रश्न : सेना सुरक्षा निकाय हो कि ठेक्कापट्टा र भोजभतेर गर्ने?

नेपालखबर
फागुन १, २०७६ बिहिबार ११:३६,

नेपाली सेनाभित्र हुने भ्रष्टाचारको राज्य व्यवस्था तथा सुशासन समितिले छानबिन गर्न पाउनुपर्ने माग समितिमा उठेको छ।

सेनाभित्रको भ्रष्टाचारले लोकतन्त्र नै खतरामा परेको उल्लेख गर्दै सांसदहरुले समितिमा छलफल गरी छानबिन गर्नुपर्ने माग गरेका हुन्।

नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंहले सेनाभित्रको भ्रष्टाचार सुशासन अन्तर्गत पर्दैन भनेर नहुने र यो विषयमा समितिमा बृहत छलफल हुनुपर्ने बताए। उनले सेना सुरक्षा निकाय हो कि ठेक्का पट्टा गर्ने निकाय भन्दै प्रश्न समेत गरे । ‘आर्मी सुरक्षा निकाय हो कि ठेक्कापट्टा, भोजभतेर गर्ने र मेडिकल चलाउने निकाय हो?’, उनले प्रश्न गरे।

सांसद सिंहले अख्तियारले कुन उजुरीमा कुन मापदण्ड बनाएर मुद्दा दायर गर्छ त्यो विषयमा समितिमा जानकारी गराउनुपर्ने बताए।

समितिले गठन गरेको उजुरी तथा गुनासो सुनुवाई उपसमिति सदस्य रेखा शर्माले समितिमा नेपाली सेनाको विविध सेवा नियमालीसम्बन्धी सांसद रेनुका गुरुङले समितिमा उजुरी दिएको बताइन्। सैनिक हवाई सेवा र लेखा समूह तथा व्यक्ति विकासका लागि २०७४ फागुन १४ गते उल्लेखित सैनिक योग्यताको मापदण्डलाई सैनिक अधिकारीहरुले आ—आफ्नो तरिकाले व्याख्या गर्दा कर्मचारीहरुको वृद्धिविकासमा बाधा पुगेको बताइन्। शर्माले सांसद रेनुका गुरुङले २०७५ भाद्र २१ गते दिएको उजुरीमा सम्पत्ति छानबिन गर्ने सम्बन्धमा बहालवाला सेनालाई पनि अख्तियारको दायरभित्र ल्याउन माग गरिएको बताइन्।

उपसमिति सदस्य नवराज सिलवालले धेरै उजुरीहरु सम्बन्धित निकायले हेर्नुपर्ने भनेर बोधार्थ आएको उल्लेख गर्दै सम्बन्धित निकायमा पठाएको बताए। राष्ट्रिय अनुसन्धान विभागसँग सम्बन्धित उजुरीहरु गम्भीर रहेको उल्लेख गर्दै सिलवालले कुनै आपराधिक घटना, विस्फोटको घटनाका विषयमा सम्बन्धित निकायमा सूचना दिने गरिएको भए पनि कारबाही गर्नुपर्ने निकायले कारबाही नगरेको बताए। समितिले निर्देशन दिए पनि नेपाल प्रहरी र गृह मन्त्रालयले कुनै प्रतिक्रिया नदिने गरेको गुनासो गरे। उनले गृहमन्त्री, गृहसचिव र अनुसन्धान विभाग प्रमुखलाई बोलाएर तत्काल समितिमा छलफल गर्नुपर्ने बताए।

सांसद विजय सुब्बाले नेपाल रेडक्रस सोसाइटीमा देखिएको भ्रष्टाचार राजनीतिक दल र मन्त्रालयकै कर्मचारीहरुको सेटिङका कारण छानबिन गर्न नसकिएको बताए। समितिमा मुद्दा दर्ता भएको लामो समय हुँदा समेत सुनुवाई नभएको प्रति उनले गुनासो गरे।

रेडक्रसका विषयमा सर्वोच्च अदालतका न्यायाधीश, सरकारी वकिल, नेताहरु नांगिदा पनि सुनुवाई हुन नसकेको उनको भनाइ थियो। उनले गृहमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार आफै नै सेटिङमा लागेर भ्रष्टाहरुको पक्षमा काम गर्ने गरेको आरोप समेत लगाए।

‘गृहमन्त्री आफँै बुझ्नुभएको छ। तर, उहाँलाई सल्लाह दिने सल्लाहकार आफैँ त्यो सेटिङमा लागेर भ्रष्टहरुको पक्षमा काम गर्छन्। गृहमन्त्रीलाई भनेकै हो तपाईका प्रमुख सल्लाहकारले तपाईंलाई ‘मिस गाइड’ गर्दैछन् भनेर’, उनले भने, ‘बजारमा महान्यायधीवक्ता, न्यायाधीशहरुले २५ लाख खाएको हल्ला छ। सबैले पैसा खाएका छन्।’ सत्तापक्ष र प्रतिपक्षी दलका नेताहरुको मिलेमतोका कारण रेडक्रस धरासायी बन्दै गएको उनले आरोप लगाए।

समिति सभापति शशी श्रेष्ठले प्रतिवेदनमा उल्लेख भएका कुराहरु कार्यान्वयन गर्न सकिन्छ कि सकिँदैन भनेर प्रश्न उठाउनुभन्दा पनि दृढतापूर्वक काम गर्न अगाडि बढ्नुपर्ने बताइन्। कार्यान्वयन गर्नकै लागि समिति बनेको उल्ल्ेख गर्दै श्रेष्ठले समितिलाई प्राथमिकताका साथ समय दिन पनि सदस्यहरुलाई आग्रह गरिन्। उनले कुनै पनि अपराधिको रंग, वर्ण र वर्ग नहुने उल्लेख गर्दै राम्रो आफ्नो मान्छे ठन्नुपर्ने प्रवृति अंगाल्नुपर्ने बताइन् । ‘अपराधिको कुनै रंग, वर्ग हुँदैन्। अपराधि अपराधि नै हो। त्यसैले हामीले राम्रो मान्छे हाम्रो मान्छे ठान्नुप¥यो, हाम्रो मान्छे राम्रो मान्छे भन्नुभएन्। यो ढंगबाट निर्ममतापूर्वक समिति जाने हो भने असम्भव भन्ने केही छैन्।

समिति गठन भएदेखि विभिन्न विषयमा ५० भन्दा बढी उजुरी परेका छन्। समितिले उजुरीहरुमाथि छानबिन गर्न करिब ८ महिनाअघि गठन भएको उजुरी तथा गुनासो सुनुवाई उपसमिति गठन गरेको थियो । उपसमितिमा शर्मा र सिलावालसँगै दिलेन्द्रप्रसाद बडु सदस्य रहेका छन्। उपसमितिले समितिलाई बिहीबार आफ्नो प्रतिवदेन बुझाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .