बुधबार प्रधानमन्त्रीले तेस्रोपटक विश्वासको मत लिनुअघि राजनीतिक दलका नेताहरूले प्रतिनिधि सभामा आआफ्नो बह पोखे। पूर्वप्रधानमन्त्रीदेखि स्वतन्त्र सांसदसम्म सबै एक–अर्कालाई आलोचना, घोचपेच र कटाक्ष गरे।
झण्डै चार घण्टासम्म चलेको ‘भनाभन’मध्ये प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई एउटा विषयले निकै सताएको देखियो।
त्यो विषय थियो– एमाले र कांग्रेसबीचको सहकार्य।
प्रचण्डलाई यसअघि संसदभित्र र बाहिरबाट पटक–पटक ‘धोका खाएकाहरू एक भए के गर्छौ?’ भन्ने प्रश्न आइरहेकै थियो।
गत २४ फागुनकै बैठकमा कांग्रेस प्रमुख सचेतक रमेश लेखकले सो प्रश्न उठाएका थिए।
बुधबार पूर्वप्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रतिपक्षीमा हुनेबित्तिकै बोलीचाली नै बन्द गर्न नहुने बताए।
उनले प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई छलफलका लागि आउन घुमाउरो शैलीमा आह्वान गरे।
‘शेरबहादुरजीलाई भन्न चाहन्छु, प्रतिपक्षीमा हुनेबित्तिकै कुरै नचल्ने भन्ने हुँदैन,’ देशको समस्या समाधान गर्न आग्रह गर्दै ओलीले भने, ‘आउनुस् कुरा गरौँ, छलफल गरौँ, र मिलेर समस्या समाधान गरौँ। कुरै चल्दैन, बोली चल्दैन?’
ओलीले यो प्रस्ताव राख्नेबित्तिकै फ्लोरमा बसेका देउवाको मुहारमा हाँसो छायो।
उनले ओलीतर्फ हेर्दै भने– अब बोल्ने हो!
यसलाई कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले अझ तन्काए।
‘कुरा नचल्ने भन्नुभयो पूर्वप्रधानमन्त्रीजीले। तलबाट हाम्रो सभापतिजीले कुरा चल्ने हो भनेर इसारा गर्नुभयो,’ शर्माले प्रधानमन्त्री प्रचण्डलाई सोधे, ‘कुरा नचल्नेहरूको कुरा चल्यो भने यहाँको यात्रा चाहिँ कतातिर चल्छ होला प्रधानमन्त्रीज्यू?’
कांग्रेस र एमालेबीचको यो अप्रत्यक्ष दोहोरी सुनेर प्रधानमन्त्री प्रचण्ड जवाफको तयारी गरिरहेका थिए।
यसैबीचमा सत्तापक्षकै अर्का सांसदले पनि यही प्रसंग उप्काए। एकीकृत समाजवादीका उपाध्यक्ष समेत रहेका सांसद राजेन्द्रप्रसाद पाण्डेले प्रधानमन्त्रीबाट अनैतिकता प्रदर्शन भएको बताए।
उनको पनि प्रश्न थियो, ‘ओलीजी र शेरबहादुरजीले घाँटी जोडे भने तपाईंको हालत के हुन्छ?’
यो प्रश्नले प्रधानमन्त्री प्रचण्डलाई झोँक चलाएको प्रष्ट देखिन्थ्यो। त्यसैले सबै दल र स्वतन्त्र सांसदले समेत आफ्ना कुरा राखिसकेपछि रोस्ट्रममा पुगेका प्रधानमन्त्री प्रचण्डको मुख्य ध्यान यही विषयमा देखिन्थ्यो।
उनले सुरुमै आज पक्ष–विपक्षमा भएको बहस सजीव रुपमा अघि बढेको महसुस भएको बताए। उनले ठूला दलहरू मिल्ने कुरा गरेर आफूलाई घोचपेच गर्न खोजिएको पनि उल्लेख गरे।
‘ठूला दलहरू हामी मिल्यौँ भने तेरो हालत के हुन्छ?’ प्रचण्डले अघि भने, ‘मेरो त कामना छ तपाईंहरू सबै मिल्नुस्।’
उनले जनयुद्धमा आफ्नो ‘टाउको काट्न’ समेत खोजेको प्रसंग झिक्दै अहिले सबै मिलेर देखाउन खुला चुनौती दिए।
प्रचण्डले आफूलाई समर्थन गरेको सबैभन्दा ठूलो दल एमालेका अध्यक्ष ओलीको भाषा पनि बिर्सेनन्। ओलीले रोस्ट्रममा कांग्रेससँग छलफलको प्रस्ताव अघि सार्दा प्रचण्ड र देउवा एकअर्काको नजिकै थिए।
ओलीले गरेको प्रश्न सुनेर देउवाको ओठमा छाएको मुस्कान र उनले दिएको प्रतिक्रिया प्रचण्डले नजिकबाट देखेका थिए।
‘आज हाम्रो माननीय पूर्वप्रधानमन्त्री केपी ओलीजीले बोल्दै गर्दा ‘बोली नचल्ने’ भन्ने एउटा भाषा प्रयोग गर्नुभयो। एउटा मर्मका साथ प्रयोग गरेको बुझेँ मैले,’ प्रचण्डले भने, ‘उता माननीय शेरबहादुर देउवाले ‘अब बोल्ने हो’ भन्नुभयो। बोल्नुहोस्। बोली फुकाउनुस्। बनाउनुस् सहकार्य।’
विश्वासको मत लिएकै दिन प्रचण्डले चेतावनीको भाषामा भने, ‘माओवादी केन्द्र, प्रधानमन्त्री वा प्रचण्ड त्यसबाट दबाबमा पर्छ भन्ने भ्रम नराख्नुहोस्।’
Shares
प्रतिक्रिया