प्रमुख सत्तारुढ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको बचाउ गरेका छन्।
मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा सहभागी भएर बाहिरिने क्रममा संसद् भवन नयाँबानेश्वरमा पत्रकारहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै ओलीले सत्ताबाट बाहिरिएपछि कांग्रेस छटपटिएको बताए।
‘अहिले उहाँहरू (कांग्रेस) सरकारबाट बाहिर हुनु हुन्छ। सरकार छाड्नेबित्तिकै कांग्रेसले आग्रह र उत्तेजना देखाउने होइन’, उनले भने, ‘सत्ता गुमेको झोंकमा प्रतिशोध साँध्ने र संसद् अवरोध गर्नु गलत हो।’
ओलीले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेबारे संसदीय समिति बन्न सम्भव नभएको पनि बताए।
‘कांग्रेसले संसदीय समिति माग गरेको सुनेँ, त्यो बन्दैन र सम्भव पनि छैन’, उनले भने, ‘कांग्रेसले आफूलाई संसद्मा जिम्मेवार रुपमा प्रस्तुत गर्नुपर्छ।’
मंगलबारको संसद् बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि गृहमन्त्री लामिछानेलाई राज्यका कुनै पनि संयन्त्र र निकायले दोषी नदेखाएको बताएका थिए।
अहिलेको अवस्थामा लामिछाने कुनै पनि सहकारी ठगी प्रकरणमा जोडिएको प्रमाण नभेटिएको पनि उनले बताएका थिए। प्रधानमन्त्रीले राज्यका निकायले समेत गल्ती नदेखाएको अवस्थामा कांग्रेसले संसद् अवरोध गर्नु राम्रो नभएको बताएका थिए।
Shares
प्रतिक्रिया