सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले नेपाली कांग्रेसले राजनीतिक प्रतिशोधले ग्रस्त भएर उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गरेको आरोप लगाएका छन्।
आइतवार पार्टी मुख्यालय च्यासलमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले उपप्रधानमन्त्री लामिछानेको राजीनामा मागेर सदन अवरुद्ध पार्ने नेपाली कांग्रेसको कामलाई एमालेले जिम्मेवार राजनीतिक दलको कदमको रुपमा लिन नसक्ने पनि बताए।
उपमहासचिव ज्ञवालीले कुनै औपचारिक निकायमा प्रमाणसहित उजुरी दर्ता भएमा भने एमाले पनि उपप्रधानमन्त्री लामिछानेको राजीनामाको पक्षमा उभिने बताउँदै बिना प्रमाण त्यसै राजीनामा माग्न नमिल्ने बताए। उनले आफैँले प्रधानमन्त्री प्रस्ताव गरेको व्यक्तिलाई गृहमन्त्रीको निम्ति अयोग्य भन्नु राजनीतिक प्रतिशोधबाहेक अरु केही पनि हुन नसक्ने जिकिर समेत गरे।
उनले भने, ‘एकातिर उहाँहरु अस्तिसम्म प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाली कांगेससँगको गठबन्धन तोड्ने निर्णय गर्नुभयो। त्यसपछि प्रधानमन्त्रीको अफर गर्दै नेपाली कांग्रेस आफैँ पुगेको थियो। प्रधानमन्त्रीको निम्ति आफैँले प्रस्ताव गरेको मान्छे गृहमन्त्रीको निम्ति अयोग्य हुन्छ भन्ने तर्क त्यो राजनीतिक प्रतिशोधको तर्क बाहेक अरु केही पनि हुन सक्दैन।’
ज्ञवालीले विगतमा आफ्नो पार्टीले प्रमाणको आधारमा मात्रै तत्कालीन भौतिक पूर्वाधार प्रकाश ज्वाला र स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतको राजीनामा माग गरेको तर्क समेत गरे।
Shares
प्रतिक्रिया