ad ad

राजनीति


धरानका मेयर भन्छन् : पुराना दल र रास्वपा दुवैको काम छैन, इलाममा स्वतन्त्रलाई जिताउनू

धरानका मेयर भन्छन् : पुराना दल र रास्वपा दुवैको काम छैन, इलाममा स्वतन्त्रलाई जिताउनू

नेपालखबर
चैत १३, २०८० मंगलबार १९:४७, काठमाडौँ

धरान उपमहानरगपालिकाका मेयर हर्क साम्पाङ राई पछिल्लो समय एकपछि अर्को विवादित भनाइका कारण चर्चामा छन्।

स्वतन्त्र उम्मेदवारी दिएर ठूला दललाई पछारेका साम्पाङले सुरुमा नेकपा एमाले र नेपाली कांग्रेसको आलोचना गरे।

त्यसपछि धरानमा एयरपोर्ट बनाउन साथ नदिएको भन्दै उनी नेकपा माओवादी केन्द्र र त्यसका नेताहरूमाथि आक्रोश पोख्न लागे।

अहिले उनी रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको आलोचना गर्न लागेका छन्। उक्त पार्टी आफू जस्ता स्वतन्त्रलाई सिद्ध्याउन नाम पनि स्वतन्त्र राखेर आएको भन्दै उनी आक्रोश पोखिरहेका छन्।

साम्पाङले आगामी वैशाख १५ गते हुन लागेको इलाम २ को उपनिर्वाचनमा पनि आफू जस्तै स्वतन्त्रलाई जिताउन आग्रह गरेका छन्।

कांग्रेस, एमाले र माओवादीसहितका पुराना दल र नयाँ भनिएको रास्वपाको पनि कुनै काम नभएकाले इलाम २ बाट स्वतन्त्रलाई नै जिताएर पठाउन उनले आग्रह गरेका छन्। 

‘इलामको उपनिर्वाचनमा रास्वपाबाट मिलन उठोस् कि बिछोड हार्छ, हार्नुपर्छ’, उनी भन्छन्, ‘किनकि यो पार्टी म जस्तो देशलाई माया गर्ने र दु:ख गर्ने मान्छेलाई सिध्याउन जन्मेको हो। पहिचान र संघीयताको विरोधी हो।’ 
उनले रास्वपाले प्रदेशको चुनावमा भाग नलिएकाले पनि उसलाई संघीयता विरोधीका रुपमा चित्रित गर्दा कुनै समस्या नहुने तर्क गरेका छन्। 

‘इलाम २ का मतदाताले स्वतन्त्र उम्मेदवारलाई मत लगाउनु होला, पार्टीको उम्मेदवारलाई होइन। जो स्वतन्त्र छ, उसलाई जिताउनु होला’, उनले भनेका छन्, ‘जसले तपाईंको भूगोलबारे जानेको छ उसलाई सघाउनुस्। भोलिको दिनमा पछुतो नहोस्, एक पटक आउँछ चुनाव, होइन भने ५ वर्षसम्म झेल्नुपर्ने हुन्छ।’

उनले आफू जस्तो मान्छेलाई सिद्धयाउन नयाँ दल बनेका बताए। ‘म जस्तो मान्छेलाई सिद्ध्याउन पनि दलहरू बनेका छन्। त्यस्ता पार्टीबाट देशले केही पाउँदैन’, उनले भनेका छन्, ‘खहरे गडगडाउँछ अनि सुकेर जान्छ। आलाकाँचा अल्लारे पनि जिताउँदा धोका हुन्छ। परम्परागत रुपमा जिताइरहेकालाई पनि जिताउन नलाग्नुस्।’

उनले रास्वपाले स्वतन्त्र नाम दुरुपयोग गरेको पनि तर्क गरेका छन्। ‘स्वतन्त्र के हो कस्तो हो? स्वतन्त्रको नाममा पार्टी खुलेको छ। स्वतन्त्र नामलाई यहाँसम्म ल्याउने को थिए इलामका मतदाताहरूले जाँच्नु पनि पर्छ’, उनले मंगलबार फेसबुक लाइभमा आएर भनेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .