गत ९ चैत। एमाले बागमती प्रदेशका जनप्रतिनिधिको प्रशिक्षण कार्यक्रम थियो। प्रदेशभरिका एक सयभन्दा बढी जनप्रतिनिधिको उपस्थिति थियो।
सम्बोधनका लागि पुगेका थिए, अध्यक्ष केपी शर्मा ओली। उनले पछिल्ला महाधिवेशन र चुनावमा टिकट वितरण गर्दा खेप्नुपरेको समस्या सुनाए।
पार्टी सदस्यता लिएको यति वर्ष भयो, मैले केही पाइनँ भन्दै टिकट माग्न आउनेको संख्या बढेको भन्दै अब त्यस्तो नहुने उनको दाबी थियो। पार्टीको परीक्षामा उत्तीर्ण हुनेले मात्रै टिकट पाउने भन्दै उनले जनता र देशको काममा सक्रिय हुन जनप्रतिनिधिलाई निर्देशन दिए।
‘पार्टीको अधिवेशन होस् वा स्थानीय तहदेखि संसदीय निर्वाचनमा होस्, परीक्षामा उत्तीर्ण हुनेले मात्रै टिकट पाउँछन्,’ ओलीले सम्बोधनको क्रममा भनेका थिए।
त्यसको दुई दिनपछि ओलीको यो भनाइलाई बल पुग्नेगरी पार्टी सचिवालयबाट एउटा निर्णय भयो।
निर्णय थियो, इलाम–२ को उपनिर्वाचनमा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने।
सुहाङलाई इलामको उम्मेदवार बनाएपछि एमालेभित्रै र बाहिर पनि ‘परिवारवाद’ हाबी भएको भन्दै आलोचना भइरहेको छ।
कतिपयले एमालेको यो कदमको विरोध गर्दै सुहाङलाई ‘नवयुवराज’ भन्दै सामाजिक सञ्जालमा कटाक्ष पनि गरेका छन्।
तर यसलाई राजनीतिक प्रतिशोधका आधारमा व्याख्या गर्न नहुने एमाले उपमहासचिव विष्णु रिमाल बताउँछन्। बरु, एमालेले युवालाई मौका दिएको उनको भनाइ छ।
‘इलाममा उठाउन लागिएका सुहाङ एक सक्रिय युवा हुन्। अहिले जति पनि परिवार वा नाता भनेर आलोचना भइरहेको छ, त्यसमा पक्षपात देखिन्छ,’ रिमालले भने, ‘विशुद्ध एमाले भएकै कारण उनको आलोचना हुनु राम्रो होइन। अरु पार्टीले पनि युवालाई अघि सारुन्।’
सुहाङ एमालेमा लामो राजनीतिक अनुभव बटुलेका नेता होइनन्। उनलाई गत १ गते मात्रै एमालेले पार्टीको कानुन विभागको सदस्यमा मनोनीत गरेको थियो।
ओलीले भनेजस्तै पार्टीमा सदस्यता लिएको लामो समय नभए पनि सुहाङले पार्टीको ‘परीक्षा’ पास गरे। टिकट लिए।
स्थानीय चुनावमै ओलीले काठमाडौं महानगरको उपप्रमुखमा सुनिता डंगोललाई टिकट दिएर जिताए, जो त्यसअघि एमाले पार्टीमा थिइनन्।
एमालेकै नेताहरूको भनाइमा हुटहुटी बोकेको युवा पंक्तिलाई सक्रिय बनाउनेगरी पार्टीले लिएको नयाँ नीति हो यो।
‘पछिल्ला केही वर्षयता युवामा देखिएको केही गरौँ भन्ने हुटहुटीलाई सकारात्मक अर्थमा लिँदै अध्यक्षले इलामबाट त्यसको संकेत गर्नुभएको पक्कै हो,’ उपमहासचिव प्रदीप ज्ञवाली भन्छन्।
त्यसो त, युवा पुस्तालाई पार्टीमा आकर्षित गर्नेगरी एमालेले यसअघि नै ‘मिसन–न्यु जेनेरेसन’ अभियान नै चलाएको थियो।
अबको निर्वाचनलाई ‘मिसन–०८४’को उपमा दिएको एमालेले युवालक्षित कार्यक्रम चलाएरै पार्टी पंक्ति आकर्षित गर्ने रणनीति बनाएको छ।
खासमा अघिल्लो निर्वाचनमा एक्लै बहुमत ल्याउने दाबी गरेको एमालेले दोस्रो शक्तिमा खुम्चिएपछि जनतामा आकर्षण बढाउनेगरी यस्ता अभियान चलाएको हो।
गत मंसिर ४ मा भएको संसदीय निर्वाचनमा ३५ लाख नयाँ युवाले मताधिकार पाउने तथ्यांक सार्वजनिक भएको थियो। अबको निर्वाचनमा यो संख्या अझै बढ्ने देखिन्छ।
यसैलाई पनि आधार मानेर एमालेले पार्टी कमिटीदेखि नै युवाको प्रतिनिधित्वलाई अनिवार्य गराएको छ।
‘हामीले पार्टी कमिटीमा प्रदेशमा १० प्रतिशत, जिल्लामा १५ प्रतिशत, पालिकामा २० प्रतिशत अनि वडा र टोलमा एक तिहाई युवा प्रतिनिधित्व अनिवार्य गराउने भनेर तोकेकै छौँ,’ उपमहासचिव रिमालले भने, ‘पार्टीमा युवाहरुको आधार बढाउन चाहन्छौँ। युवाको पंक्ति पनि सक्षम छ भन्ने सन्देश दिनेगरी अघि बढ्न चाहन्छौँ।’
गत साउन २९ मा बसेको सचिवालय बैठकले पार्टी कमिटीहरुमा ४० वर्षमुनिका युवाहरुको प्रतिनिधित्व बढाउनेगरी सो निर्णय गरेको थियो।
‘हामी प्रष्टै छौँ। राजनीतिमा बढीभन्दा बढी युवाहरू जोडिनुपर्छ भन्ने हाम्रो घोषित नीति नै हो। त्यसका लागि केही गर्नसक्ने हुटहुटी बोकेका, बौद्धिक र नयाँपन दिनसक्ने युवाको पंक्ति चाहिन्छ नै,’ ज्ञवालीले थपे।
अघिल्लो स्थानीय तहको निर्वाचन र संसदीय निर्वाचनमा देखिएको युवाहरूको ‘क्रेज’लाई पनि एमालेले महत्वका साथ हेरेको छ।
‘अब युवा नै अघि सर्नुपर्छ भन्ने हाम्रो बुझाइ हो,’ रिमालले भने।
देशको झण्डै ५० प्रतिशत जनसंख्या युवा भएको भन्दै नीतिनियम बनाउने थलोमा बसेका जनप्रतिनिधहरू युवा हुनुपर्ने पार्टीको धारणा रहेको रिमाल बताउँछन्।
संसदमा बर्तौला र बराल
पछिल्ला केही निर्णयहरु हेर्दा एमाले र अध्यक्ष ओलीले पार्टीमा केही परिवर्तन गर्न चाहेको देखिन्छ।
प्रतिनिधि सभा चुनावको टिकट दिँदा युवालाई राम्रो स्थान दिएका ओलीले संसदीय दलको महत्त्वपूर्ण भूमिकामा पनि युवालाई नै अघि सारेका छन्। एमाले संसदीय दलको प्रमुख सचेतक र सचेतकको जिम्मेवारी पनि ओलीले युवाकै हातमा थमाएका छन्।
ओलीले ३९ वर्षीय महेश बर्तौलालाई सचेतक बनाउँदा समानुपातिक कोटाबाट सांसद बनेकी युवा नेतृ सुनिता बराललाई सचेतक बनाएका छन्।
जसलाई ओलीले पार्टीदेखि संसद्सम्म युवाको उपस्थिति बढाउन खोजेको नेताहरू बताउँछन्। यसअघि युवा नेता पदम गिरी प्रमुख सचेतक थिए। हालै उनी मन्त्री बनेका छन्।
नवीनतम सोच बोकेका युवाको खोजी गर्ने, राजनीतिमा ‘ग्रुम’ गर्ने र अवसरसमेत दिने रणनीति एमालेले अबको निर्वाचनमा अपनाउने उपमहासचिव ज्ञवालीले बताए।
‘त्यस्ता युवाहरूलाई योजनाबद्ध ढंगले खोजी गर्ने र ग्रुम गर्नेगरी हामीले कामहरू अघि बढाएका छौँ,’ ज्ञवालीले भने, ‘युवालाई अघि सार्ने मात्रै होइन, अवसर पनि दिनुपर्छ भन्ने अध्यक्षसहित सिंगो पार्टीको नीति हो।’
बर्तौला र बराल दुवै अनेरास्ववियुको राजनीतिबाट उदाएका नेता हुन्। बराल अनेरास्ववियुको अध्यक्ष हुँदा बर्तौला उपाध्यक्ष थिए।
शीर्ष नेतालाई धक्का
ओलीले देखाएको युवाप्रतिको मोहले पार्टीका शीर्ष नेताहरूको महत्वाकांक्षामा भने धक्का लाग्नसक्छ।
एमाले सचिवालयमा अधिकांश पाका नेता छन्। ओली आफैँ ७० कटिसके। सचिवालयमा रहेकामध्ये योगेश भट्टराई, गोकर्ण विष्ट, पद्मा अर्याल मात्र ६० वर्षभन्दा कम उमेरका नेता हुन्।
यस्तो अवस्थामा ओलीको युवा ल्याउने चाहनाले ५० कटेका नेताहरूलाई भने समस्या पर्नसक्छ।
किनभने गत निर्वाचनदेखि युवा उठेको ठाउँमा पुराना नेताप्रति मतदाताको विकर्षण उनले देखेका छन्।
अघिल्लो निर्वाचनमा काठमाडौँ–५ बाट उठेका ईश्वर पोखरेल हारेका थिए। कांग्रेसबाट युवा नेता प्रदीप पौडेलले पोखरेललाई पराजित गरेका थिए।
मतदाताको सोही मनोविज्ञान बुझेर सुहाङलाई ओलीले इलामको टिकट दिएका हुन्। उनले सुहाङलाई बधाई दिँदैगर्दा सामाजिक सञ्जालमार्फत पनि उनको उमेरमा ज्यादा जोड दिएका छन्।
ओलीले आफ्नो पोस्टको सुरुमै ‘३२ वर्षीय युवा..’ उल्लेख गरेका छन्। यद्यपि, सुहाङ ३५ वर्ष पुगेका छन्।
Shares
प्रतिक्रिया