राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले राजनीतिमा राजनीति नै चल्ने भन्दै स्व. सुवास नेम्वाङको परिवारप्रति कुनै टिप्पणी नगर्ने बताएका छन्।
शनिबार इलाम–२ का उम्मेदवारको औपचारिक घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै सभापति लामिछानेले स्व. नेम्वाङको प्रशंसा गर्दै प्रतिस्पर्धा र अठोटका साथ आफूहरू इलाम झरेको बताए।
‘जुन राजनीतिको वकालत उहाँ(स्व. सुवास नेम्वाङ)ले गर्नुभयो, त्यो राजनीतिको वकालत सायद राजनीतिक रुपमा चाहीँ त्यसको विरासत रास्वपाले नै धान्नुपर्छ। पारिवारिक रुपमा मलाई केही भन्नु छैन,’ उनले भने, ‘राजनीतिमा राजनीतिमात्रै चल्छ। परिवारमा टीका लगाउने, दसैँ तिहार मनाउने कुरा त सधैँ रहिरहन्छ। राजनीति त राजनीति जस्तै हुनुहुन्छ।’
उनले यो कुरा पनि स्व. नेम्वाङले नै सिकाएको पनि बताए।
‘यो कुरा हामीलाई सुवास नेम्वाङले नै सिकाउनुभएको हो। सम्मानपूर्वक प्रतिस्पर्धा गर्ने आँट र अठोटका साथ हामी आएका छौँ,’ लामिछानेले भने।
उनले इलामबाट लामो रेखा कोर्न चाहेको भन्दै मौका कुरिरहेको बताए। ‘इलामलाई चिनेको, गरिब किसान परिवारबाट पत्रिका बेच्ने मान्छे, समाचारमा काम गर्ने मान्छे, जसले इमानदारीताका साथ आफ्नो परिचय बनाए, उहाँलाई हामीले उम्मेदवारको रुपमा खडा गरेका छौँ,’ उनले भने।
Shares
प्रतिक्रिया