ad ad

राजनीति


शान्ति प्रक्रिया टुंग्याउन राष्ट्रिय सहमतिको वातावरण बनाउँदै छु : प्रधानमन्त्री

शान्ति प्रक्रिया टुंग्याउन राष्ट्रिय सहमतिको वातावरण बनाउँदै छु : प्रधानमन्त्री

नेपालखबर
चैत १७, २०८० शनिबार १८:३६, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्ति प्रक्रिया टुङ्गोमा पुर्‍याउन र विकास तथा समृद्धिका लागि राष्ट्रिय सहमति जुटाउन आफू प्रयासरत रहेको दाबी गरेका छन्।

रिपोटर्स क्लबको २६औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री दाहालले शान्ति प्रक्रिया र संवैधानिक परिषद्का विषयमा आज नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गर्न लागेको बताए।

लगत्तै उनीहरू प्रधानमन्त्री निवास बालुवाटारमा छलफलका लागि जुटेका छन्। 

‘शान्ति प्रक्रिया र संवैधानिक परिषद्सँग सम्बन्धित विषयमा आज गम्भीर छलफल गर्दैछौँ। सकेसम्म मेरो कोसिस सबै राजनीतिक दललाई सहमतिमा ल्याएर राष्ट्रिय सहमति र समझदारीको वातावरण बनाउनु नै हो’, प्रचण्डले भने, ‘कहिले नेपाली कांग्रेससँग नजिक हुँदा एमालेका र एमालेसँग नजिक हुँदा कांग्रेसका साथीहरूले मन दुखाउनुभएको छ। हामीलाई चाहिएको सुशासन र समृद्धि हो। त्यसका लागि राष्ट्रिय सहमतिको वातावरण बनाउन सकेनौँ भने निकै अप्ठ्यारो स्थितिको सामना हामीले गर्नुपर्नेछ।’

सुशासन, समृद्धि र सामाजिक न्यायको पक्षमा केही मानकहरू स्थापित गर्ने तथा अन्तर्राष्ट्रिय जगत्मा नेपालको आवश्यकता के हो भन्ने कुरालाई मुखारित गर्न वर्तमान सरकार प्रयासरत रहेको उनको भनाइ थियो।

‘नयाँ संविधान निर्माणपछि देश अहिले सङ्घीय लोकतान्त्रिक गणतन्त्र कार्यान्वयनको अभ्यासमा छ। सङ्घीय प्रणालीअनुसार आवश्यक ऐन, कानुनको तर्जुमा गर्दै लोकतान्त्रिक व्यवस्थालाई सुदृढ बनाउनु आजको राष्ट्रिय कार्यभार बन्न पुगेको छ। वैदेशिक सम्बन्धलाई सन्तुलनमा राख्दै आफ्नो आर्थिक समृद्धिको दिशामा अग्रसर हुनुपर्ने चुनौती हाम्रासामु छन्’, प्रधानमन्त्री प्रचण्डले भने।

तीन तहको सरकारका बीचमा आयोजना छनोटमा देखिएको अराजकता हटाउने र उत्पादन, उत्पादकत्व तथा रोजगारी वृद्धि गर्नेगरी आगामी आर्थिक वर्षको बजेट ल्याइने पनि उनले दाबी गरे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .