नागरिक उन्मुक्ति पार्टी (नाउपा)का बागमती प्रदेश अध्यक्ष दीपबहादुर योञ्जन तामाङ सो पार्टीबाट निस्कासित भएका छन्।
नाउपाकी अध्यक्ष रञ्जिता चौधरी श्रेष्ठले विज्ञप्ति जारी गर्दै तामाङलाई पार्टीबाट निस्कासन गरिएको जानकारी दिएकी हुन्। तामाङ नाउपाका संस्थापक नेता रेशमलाल चौधरी निकट मानिन्छन्।
हाल नाउपामा चौधरी र उनकी पत्नीसमेत रहेकी रञ्जिताबीच तीव्र मतभेद छ।
सोमबार काठमाडौँको अनामनगरमा बसेको नाउपा केन्द्रीय कमिटीको बैठकमा रेशम पक्षका नेताहरूबाट रञ्जिता पक्षका दुईजना नेतामाथि कुटपिट भएको थियो।
सो कुटपिटमा तामाङको संलग्नता रहेको भन्दै अध्यक्ष श्रेष्ठले उनलाई पार्टीबाट निस्कासन गरिएको बताएकी छन्।
‘चैत १९ गते पार्टीका संस्थापक केन्द्रीय सदस्यहरुको बैठक चलिरहेको अवस्थामा तपाई (दीपबहादुर योञ्जन तामाङ)समेतले पार्टीका संस्थापक केन्द्रीय सदस्यहरु रामलाल डगौरा थारु र रमेश विश्वकर्मालाई अभद्र व्यवहार गरि कुटपिटसमेत गरेको हुँदा पार्टीको विधान अनुसार तपाईलाई आजकै मितिदेखि लागू हुनेगरी पार्टीबाट पदमुक्त गरि निस्कासन गरिएको छ,’ श्रेष्ठले सोमबार साँझ जारी गरेको विज्ञप्तिमा भनिएको छ।
सुदूरपश्चिममा नेपाली कांग्रेसको गठबन्धनलाई निरन्तरता दिनुपर्ने पक्षमा रहेका रेशम र मुख्यमन्त्री लिएर नयाँ गठबन्धनबाट अघि बढ्नुपर्ने पक्षमा रहेकी रञ्जिता पक्षबीचको विवादले नाउपा फुटको संघारमा पुगेको छ।
Shares
प्रतिक्रिया