ad ad

राजनीति


रेशमले डाकेको पार्टी बैठकलाई खारेज गरिदिइन् रञ्जिताले

रेशमले डाकेको पार्टी बैठकलाई खारेज गरिदिइन् रञ्जिताले

फाइल तस्बिर


नेपालखबर
चैत २०, २०८० मंगलबार १६:३७, काठमाडौँ

नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले यही चैत २३ र २४ गते बोलाइएको भनिएको केन्द्रीय सदस्य तथा पदाधिकारी बैठक लाई खारेज गरिदिएकी छन्।

पार्टीका संरक्षक रेशम चौधरीले आह्वान गरिएको उक्त बैठक आधिकारिक नभएको जानकारी अध्यक्ष श्रेष्ठले मंगलबार एक वक्तव्यमार्फत दिएकी हुन्।

‘२०८० चैत २३ र २४ गते केन्द्रीय सदस्य तथा पदाधिकारीज्यूहरूसहितको भनिएको नागरिक उन्मुक्ति पार्टीको बैठक आधिकारिक होइन’, उनले मंगलबार भनेकी छन्।

फागुन २१ गते एमाले र माओवादीसहितको गठबन्धन बनेपछि नाउपामा विवाद चुलिएको छ। नाउपा अध्यक्ष श्रेष्ठ र संरक्षक चौधरीबीचको कलहले पार्टी विभाजनको संघारमा पुगेको छ। यस्तोमा रेशमले डाकेको बैठकलाई उनकी पत्नीसमेत रहेकी रञ्जिताले खारेज गरिदिएकी हुन्।

पार्टीमा विवाद चुलिँदै गर्दा रेशम र रञ्जिताबीच बोलचालको अवस्थासमेत छैन। मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न उनीहरू अलग अलग बालुवाटार छिरेका थिए। 

एक अर्को पक्षलाई आरोप–प्रत्यारोप गरिरहँदा सोमबार अनामनगरमा बसेको पार्टी केन्द्रीय समिति बैठकमा रेशम पक्षका नेताले रञ्जिता पक्षका नेतालाई कुटपिट गरेका थिए।

यसअघि रेशमनिकट मानिएका नाउपा महासचिव गंगाराम चौधरीले पदाधिकारी र केन्द्रीय सदस्यको डाकिएको भन्दै विज्ञप्ति निकालेका थिए। 

‘पहिलो महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको उपस्थितिमा पार्टीको महत्वपूर्ण विषयवस्तुमा छलफल गर्नुपर्ने भएकाले आफ्नो सक्कल नागरिकता र मतदाता परिचयपत्रसहित उपस्थित हुन...’, महासचिव चौधरीले भनेका थिए। 

उक्त पत्र आएपछि अध्यक्ष रञ्जिताले बैठक नै आधिकारिक नभएको बताएकी हुन्।

कैलालीको टीकापुरमा हालै भएको प्रथम महाधिवेशनलाई निर्वाचन आयोगले वैधानिकता दिएको छैन।

निर्वाचन आयोगले प्रथम महाधिवेशनलाई अवैधानिक घोषणा गर्दै अध्यक्षमा निर्वाचित रेशमको पद खारेज गरेर उक्त पदमा रञ्जितालाई नै फर्काइदिएको छ। त्यसयता पति-पत्नीबीच राजनीतिक मैदानमा घमासान चलिरहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .