राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौं केन्द्रित बृहत् जनप्रदर्शन तयारी गरेको छ। आन्दोलन तयारीका लागि परिचालन समितिले तयारीलाई तीव्रता दिएको छ।
गत ९ फागुनमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष विभिन्न ४० बुँदे माग राखेर आन्दोलनमा होमिएको राप्रपाले २७ चैतमा काठमाडौंकेन्द्रित बृहत् जनप्रदर्शन गर्ने भएको छ।
यसको तयारीलाई पार्टीसम्बद्धत विभिन्न संघ संगठनले आन्दोलन उपत्यका परिचालन समितिले पनि तयारीलाई तीव्रता दिएको संयोजक विक्रमबहादुर थापाले जानकारी दिए।
राप्रपा बागमती प्रदेश अध्यक्षसमेत रहेका आन्दोलन उपत्यका परिचालन समिति संयोजक थापाले २७ चैतमा हुने जनप्रदर्शनमा २०७९ मा काठमाडौं उपत्यकाबाट प्राप्त समानुपातिक मत बराबर मतदाता उतार्ने तयारी भइरहेको जानकारी दिए।
२०७९ सालमा भएको निर्वाचनमा राप्रपाले थ्रेस होल्ड कटाएर मत ल्याउँदै आफूलाई राष्ट्रिय दलको मान्यता दिलाउन सफल भएको थियो।
उसले समानुपातिकमा देशभरबाट ५ लाख ८६ हजारभन्दा बढी मत ल्याएको थियो भने काठमाण्डौं उपत्यकामा पनि सम्मानजनक मत प्राप्त गरेको थियो।
जनसहभागिता र जनपरिचालनका लागि काठमाडौं, ललितपुर र भक्तपुरमा दिनहॅु बैठक, घरदैलो र कोणसभा भइरहेका छन्। उपत्यकाका सबै नगरपालिकामा आन्दोलन कमाण्डर तोकिएको प्रदेश प्रमुख थापाले बताए।
देशभरबाट आफ्ना कार्यकर्तासहित शुभेच्छुक सहभागी हुने वृहत जनप्रदर्शनको तयारीका लागि काठमाडौं उपत्यकाका हरेक वडामा समिति गठन गरिएको छ। राप्रपाले आफ्ना विभिन्न संगठन, भ्रातृ तथा शुभेच्छुक संस्थालाई पनि परिचालन गरेको छ।
जिल्लाका प्रतिनिधिहरूलाई आन्दोलनसम्बन्धी प्रशिक्षणसमेत दिएको राप्रपाको जनप्रदर्शन कार्यक्रमले आफ्नो माग पूरा गराउनलाई सरकारलाई धक्का दिने अनुमान गरिएको छ।
Shares
प्रतिक्रिया