गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले ७ दिनको समयसीमाभित्र नयाँ सरकार गठनको दाबी पेश गर्न राजनीतिक दलहरूलाई आह्वान गरेका छन्।
प्रदेश प्रमुख भट्टले यही चैत २७ गते दिउँसो ३ बजेसम्म दुई वा दुईभन्दा बढी दलको समर्थनसहित सरकार गठनको दाबी पेश गर्न आह्वान गरेका हुन्।
‘संविधानको धारा १ सय ६८ को उपधारा २ अनुसार दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभा सदस्यलाई चैत २ गते मंगलबार दिउँसो ३ बजेभित्र गण्डकी प्रदेशको मुख्यमन्त्री पदमा नियुक्ति गर्ने दाबी पेश गर्न आह्वान गर्छु’, भट्टले भनेका छन्।
बुधबार बिहान संविधानको धारा १६८ को उपधारा २ अनुसार मुख्यमन्त्री बनेका नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले दिएको राजीनामा स्वीकृत गर्दै प्रदेश प्रमुख भट्टले नयाँ सरकार गठनको प्रक्रिया अगाडि बढाएका हुन्।
६० सदस्यीय गण्डकी प्रदेशसभामा कुनै एक दलको प्रष्ट बहुमत छैन।
यहाँ नेपाली कांग्रेका २७, एमालेका २२, माओवादी केन्द्रका सभामुखसहित (८) ,राष्ट्रिय प्रजातन्त्र पार्टीका २ र एकजना स्वतन्त्र सांसद छन्।
मनाङ ‘ख’ बाट निर्विरोध निर्वाचित दीपक मनाङले यसअघि नेकपा एकीकृत समाजवादीमा समाहित भएका थिए।
तर पछिल्लो समय सुरेन्द्रराजले मन्त्री बनाउने भएपछि उनले सो दल परित्याग गरी आफूलाई स्वतन्त्रको दर्जा दिन सभामुखसमक्ष अनुरोध गरेका छन्।
माओवादीको चुनाव चिन्ह लिएर गोरखा २ ख बाट जितेका फणिन्द्र देवकोटाले आफू माओवादीको नभइ डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीको सांसद भएको जिकिर गर्दै आइरहेका छन्।
यी दुवै विषय पेचिलो बन्दा यहाँ कसको नेतृत्वमा सरकार बन्ने हो भन्ने अन्योल छ। बुधबार नै राजीनामा दिएका पाण्डे भने पुनः ठूलो दलको हैसियतले मुख्यमन्त्री नियुक्त हुने अभियानमा छन्।
Shares
प्रतिक्रिया