नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजनीतिक स्थायित्वको लागि बलिया राजनीतिक दल आवश्यक पर्दछ भन्ने चेतना नेपाली समाजमा सम्प्रेषण नगरेसम्म देशको सार्वभौमसत्ता सबल हुन नसक्ने बताउनुभएको छ।
बुधबार टङ्कप्रसाद आचार्य स्मृति प्रतिष्ठानले ललितपुरमा आयोजना गरेको सार्वभौमिकता: सीमा र पानी विषयक छलफल कार्यक्रम बोल्दै पोखरेलले अस्थिर राजनीति भित्र एकले अर्कालाई आक्रमण गर्ने परम्पराले नेपाली समाजलाई बिगारेको बताए।
यसको पछाडि राजनीतिक दल नै जिम्मेवार रहेका उनले टिप्पणी गरे। ‘लोकतन्त्रमा आइसके पछि राजनीतिक स्थायित्वको लागि बलिया राजनीतिक दल आवश्यक पर्दछ’, उनले भने।
बलिया राजनीतिक दलले नै देशको सार्वभौमसत्तालाई बलियो बनाउने उनले बताए। ‘नेपाललाई आर्थिक रूपमा सबल नबनाएसम्म सार्वभौमसत्तालाई सबल बनाउन सक्दैनौँ’, उनले भने।
सार्वभौमसत्ता सम्पन्न राष्ट्रका राजनीतिक दलले देशको सार्वभौमतालाई बलियो बनाउने गरी व्यवहार गर्नुपर्नेमा पोखरेलले जोड बताए।
‘हामी अन्तराष्ट्रिय दृष्टिकोणले पनि सार्वभौम छौँ, संवैधानिक दृष्टिकोणले पनि सार्वभौम छौँ’, उनले भने।
नेपालको जलस्रोतको उपयोगिताको सम्बन्धनमा, कोशी, गण्डक, टनकपुर सम्झौताबाट पाठ सिक्नु पर्ने उनले बताए।
भविष्य सुरक्षा गर्न इतिहासको समीक्षा गरेर अघि बढ्नु पर्नेमा उनले जोड बताए।
नेपाल-भारत सिमानामा नदीले धार परिवर्तन गर्दा पनि धेरै समस्या आएको उनले बताए।
अब परम्परागत सीमाको होइन, स्थायी सीमाको बारेमा बहस अघि बढाउनु पर्नेमा उनले जोड बताए।
सीमाको विषय नेपाली राजनीतिक दलको साझा विषय बन्नुपर्ने उनले बताए। यस्ता विषयमा राजनीतिक स्वार्थ राख्नु नहुने उनको धारणा छ।
सीमाको विषयमा सबै राजनीतिक दललाई एउटै डालोमा राखेर हेर्न नहुने उनले बताए।
सीमाबारे कुरा उठाएकै कारण एमालेले पार्टी विभाजनदेखि सरकार छाड्नुपर्ने सम्मको स्थिति भोग्नु परेको पोखरेलले स्मरण गराए।
‘नेपालको सार्वभौमसत्ता, जलस्रोत उपयोग र सिमानाको प्रश्नमा नेपालका राजनीतिक दल र नेपाली समाज एक ठाउँमा उभिनु पर्दछ’, पोखरेलले भने।
भविष्यको लागि नेपाललाई समृद्ध बनाउने आधार जलस्रोत भएको उनले बताए। यसमा नेपाली जनता पहिलो हकदार हुन् भन्ने कुरा बिर्सन नहुनेमा उनले जोड बताए। ‘व्यापार प्राथमिकता होइन, उपयोग प्राथमिकता हो’, उनले भने।
हिमालबाट बगेका नदी तराईको भूमि सिँचाइको लागि उपयोग गर्नुपर्छ भन्ने मान्यतालाई केपी शर्मा ओली नेतृत्वको सरकारले स्थापित गरेको पोखरेलले बताए।
ओली नेतृत्वको सरकारका पालामा बबई–भेरी डाइभर्सन र सुनकोसी–मरिण डाइभर्सनको काम अघि बढेको उनले स्मरण गराए।
नेपालको योजनाबद्ध विकास र सार्वभौमसत्ता रक्षामा टङ्कप्रसाद आचार्यको भूमिका उल्लेख्य रहेको पोखरेलले बताए।
आचार्यलाई सम्झिँदा नेपालको सार्वभौमसत्तालाई बलियो बनाउने आधार प्राप्त हुने पोखरेलले स्पष्ट पारे।
Shares
प्रतिक्रिया