आगामी वैशाख १५ गते इलाम क्षेत्र नम्बर २ र बझाङ क्षेत्र नम्बर १ (क) मा हुने उपनिर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदैछ।
शनिबार बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म उम्मेदवारी दर्ताको समय निर्धारण गरिएको निर्वाचन आयोगले जनाएको छ। आजै साँझ ५ बजेदेखि ६ बजेसम्ममा उम्मेदवारको सूची प्रकाशन गर्ने कार्यतालिका छ।
आयोले उम्मेदवारको विरोधमा उजुरी दिन भोलि (आइतबार)बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्मको समय निर्धारण गरेको छ।
आयोगले आइतबार अपराह्न ३ बजेदेखि चैत्र २६ गते बेलुका ५ बजेसम्ममा मनोनयनपत्र र उजुरी उपर जाँचबुझ गर्ने छ। जाँचबुझपछि चैत्र २६ गते बेलुका ५ बजेदेखि ६ बजेसम्ममा मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने आयोगले जनाएको छ।
उम्मेदवारहरूलाई आफ्नो उम्मेदवारी फिर्ता लिन चैत २७ गते बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्मको समय निर्धारण गरिएको छ। सोही दिन उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरी सोही चुनाव चिह्न प्रदान गरिने कार्यतालिका छ।
आगामी वैशाख १५ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदानको समय निर्धारण गरिएको छ।
इलाम २ बाट निर्वाचित नेकपा एमालेका नेता तथा पूर्वसभामुख सुभाष नेम्बाङको निधन भएपछि निर्लाचन हुन लागेको हो।
त्यसैगरी बझाङ क्षेत्र नम्बर १ (क) मा कांग्रेसका पृथ्वीबहादुर सिंहको निधन भएपछि उप निर्वाचन हुन लागेको हो।
एमालेले इलाममा पूर्वसभामुख नेम्बाङका कान्छा छोरा सुहाङ नेम्बाङलाई उम्मेदबार बनाउने भएको छ। उनलाई माओवादी केन्द्र र एकीकृत समाजवादीले पनि समर्थन गरेका छन्।
नेपाली कांग्रेसले इलाममा डम्बरबहादुर खड्कालाई उम्मेदवार बनाएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीले इलाममा मिलन लिम्बूलाई टिकट दिएको छ।
कांग्रेसले बझाङ १ को प्रदेशसभा (क) मा सिंहपुत्र अभिषेक सिंहलाई उम्मेदवार बनाउने तयारी गरेको छ।
Shares
प्रतिक्रिया