प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारीको बचत अपचलन आरोप खेपिरहेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले राजीनामा दिनुपर्ने बटमलाइन नछाड्ने भएको छ।
सोमबार बसेको कांग्रेस पदाधिकारी बैठकले सहकारी प्रकरणमा संसदीय छानबिन समिति बन्न नसक्ने अवस्थमा गृहमन्त्री लामिछानेले राजीनामा दिनुपर्ने अडानलाई निरन्तरता दिने निष्कर्ष निकालेको हो।
कांग्रेसले संसद्मा रहेका पूर्व र वर्तमान पदाधिकारीहरूसँग यसबारे परामर्श गर्न बैठक राखेको थियो। उक्त छलफलबाट संसदीय छानबिन समिति गठनको अडान नछाड्ने निर्णय गरिएको महामन्त्री गगन थापाले बताएका छन्।
कांग्रेस सह-महामन्त्री बद्री पाण्डेले पदाधिकारी बैठकपछि नेपालखबरसँगको कुराकानीमा गृहमन्त्रीबारे पार्टीको बटमलाइन यथावत् रहेको बताएका छन्।
‘आज हाम्रो पार्टीको पदाधिकारी बैठक बसेको थियो। यो बैठकमा हामीले राख्दै आएको बटमलाइनमा यथावत रहने निर्णय भएको छ,’ उनले भने, ‘संसद्मा हामीले उठाइरहेको प्रकरणमा अस्तिदेखि नै हामी प्रष्ट छौँ।’
पदाधिकारी बैठकले सांसदहरूसँग पनि थप छलफलका लागि संसदीय दलको बैठक बोलाउने निर्णय गरेको छ।
‘पदाधिकारी बैठकमा अहिलेसम्मको हाम्रो पोजिसनबारे समीक्षा गरेका छौँ। संसदीय दलको बैठकमा सबै कुराबारे थप समीक्षा हुन्छ’, उनले भने, ‘कांग्रेसको बटमलाइन पुरानै हो। हामी त्यसबाट दायाँबायाँ भएका छैनौँ।’
पदाधिकारी बैठकककै निर्णयलाई संसदीय दलले पनि निरन्तरता दिएर अघि बढ्ने उनले बताएका छन्।
सभामुखको पहल
कांग्रेसले उपप्रम लामिछाने जोडिएको सहकारी प्रकरण छानबिनका लागि संसदीय समिति नबनेसम्म संसदको बैठक अवरोध गर्ने चेतावनी दिइरहेको छ।
कांग्रेसले संसद्मा अवरोध गर्ने चेतावनी दिएपछि यसबारे छलफलका लागि सभामुख देवराज घिमिरेले सोमबार दिउँसो २ बजे मुख्य दलहरूसँग छलफल गर्दैछन्।
बिहान १० बजेका लागि डाकिएको दलका प्रमुख सचेतक र सचेतकहरुँगको बैठक घोडेजात्रा पर्व मनाउन केही घण्टालाई स्थगित गरेर दिउँसो बस्ने गरी निर्धारण गरिएको सभामुखको सचिवालयले जानकारी दिएको छ।
कांग्रेसले मागिरहेको संसदीय छानबिन समितिबारे सभामुख घिमिरेले दलका नेताहरूसँग दिउँसो छलफल गर्ने भएका छन्। कांग्रेसबाट सभापति शेरबहादुर देउवा र प्रमुख सचेतक रमेश लेखक बैठकमा सहभागी हुने बताइएको छ।
Shares
प्रतिक्रिया