नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई सहकारीको बचत हिनामिना प्रकरणमा निर्दोष भए संसदीय छानबिन समिति बनाउन किन तयार नभएको भन्दै प्रश्न गरेका छन्।
काठमाडौंमा सोमबार आयोजित एक कार्यक्रममा पौडेलले संसदीय छानबिन समिति बनाउनुपर्ने मागबाट कांग्रेस पछि नहटेको बताए। सहकारी प्रकरणमा गृहमन्त्री लामिछानेमाथि छानबिन हुनुपर्ने अडानमा कांग्रेस यथावत रहेको पनि उनले उल्लेख गरे।
‘छानबिनका लागि निर्दोष छु भन्नेहरू किन तयार नहुनुभएको त? छानबिन गरेर निर्दोष साबित हुनु झन् राम्रो हुन्छ। दोषी नभएको अवस्थामा छानबिन समिति बनाउन किन अप्ठ्यारो भयो?’, उनले भने।
सांसद पौडेलले सरकारको संयन्त्र विश्वसनीय नभएकै कारण यसअघिका प्रकरणमा संसदीय छानबिन समिति बन्ने गरेको पनि सम्झाए।
सरकारले सुशासन कायम गर्न सुशासनका सबै मान्यतालाई अङ्गीकार गर्नुपर्ने पौडेलको भनाइ थियो। भ्रष्टाचार अन्त्य र सुशासन कायम गर्न अहिलेसम्मका अनियमितताको छानबिन पनि जरुरी रहेको पौडेलको तर्क छ।
Shares
प्रतिक्रिया