नागरिक उन्मुक्ति पार्टी (नाउपा) की एकजना सुदूरपश्चिम प्रदेशसभा सदस्य इन्दिरा गिरीले पद गुमाएकी छन्।
सुदूरपश्चिम प्रदेश सभाका सभामुख भीम भण्डारीले नाउपा सांसद इन्दिरा गिरी पदमुक्त भएको सूचना सोमबार टाँसेका छन्।
गिरीलाई नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठले गत चैत २१ गते पार्टीका तर्फबाट सुदूरपश्चिम प्रदेश सरकारमा भूमि व्यवस्था तथा सहकारी राज्यमन्त्री रहेकी इन्दिरा गिरीलाई कारबाही गरेकी थिइन्।
समानुपातिक सांसद गिरीलाई पदबाट बर्खास्त गरिएको पत्र रञ्जिताले प्रदेश सभामा पठाएकी थिइन्। काठमाडौंमा रहेका नाउपाका प्रदेश सांसदहरू कारबाहीको पत्र लिएर धनगढी पुगेका थिए।
पार्टीको निर्णयविपरीत सरकारमा सहभागी भएको र स्पष्टीकरण माग्दा नदिएकाले गिरीलाई कारबाही गरिएको थियो।
२१ फागुनमा सत्ता गठबन्धन फेरबदलसँगै पतिसमेत रहेका पार्टीका संरक्षक रेशमलाल चौधरी र अध्यक्ष रञ्जिताबीच तीव्र मतभेद अझै जारी छ।
कांग्रेससँग सहकार्य गर्ने पक्षमा रहेका रेशमले अध्यक्ष रञ्जिताको निर्देशनविपरीत सुदूरपश्चिम सरकारमा ५ जना सांसदलाई मन्त्री बनाएर पठाएका थिए।
रञ्जिता भने नयाँ सत्ता गठबन्धनमा सहभागी हुनुपर्ने पक्षमा थिइन्। नागरिक उन्मुक्ति पार्टीका ७ प्रदेश सांसदमध्ये सुदूरपश्चिम सरकारमा ५ जना मन्त्री थिए।
रञ्जिताको निर्देशनविपरीत सरकारमा रहेका अन्य ४ मन्त्रीलाई भने कारबाही गरिएको छैन। नाउपा संसदीय दलका नेता घनश्याम चौधरी आर्थिक मामिलामन्त्री छन्।
भूमि व्यवस्था तथा सहकारीमन्त्री रामेश्वर चौधरी, सामाजिक विकासमन्त्री लक्ष्मणकिशोर चौधरी र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री खुसीराम डगौँरा नाउपाबाट सुदूरपश्चिम सरकारमा प्रतिनिधित्व गर्छन्।
Shares
प्रतिक्रिया