उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले नागरिकको सुरक्षामा कुनै सम्झौता नहुने बताएका छन्।
शनिबार नयाँ वर्षको अवसरमा काठमाडौंको थापाथलीस्थित सडकमा नेपाल प्रहरी, ट्राफिक प्रहरी र सर्वसाधारणसँग नयाँ वर्षको अवसरमा खुसी साटासाट गर्न पुगेका थिए।
प्रहरी महानिरीक्षक (आईजीपी) वसन्त कुँवरलाई साथमा लिएर पुगेका गृहमन्त्री लामिछानेले जनताका सबै किसिमका गुनासाहरू यथोचित ढंगबाट समाधान हुने प्रतिवद्धता जनाए।
‘सहरमा राति, बिहान, साँझ कतै जानुपर्दा सहरमा खुला ठाउँहरु छन्, सुरक्षित छन् भन्ने सन्देश हरेक देशले दिइरहेको छ, त्यो हुनुपर्छ, आजको बदलिँदो परिस्थितिमा सात, आठ बजे अध्याँरो हुने भन्ने हुँदैन, व्यापार व्यवसाय चलोस्, मानिसहरूको चहलपहल होस्,’ गृहमन्त्री लामिछानेले भने।
काठमाडौँ सहरलाई चलायमान र क्रियाशिल बनाउन नयाँ वर्षबाट २४ सै घण्टा दरबार मार्ग र ठमेल क्षेत्र सञ्चालन गर्न लागिएको उनको भनाइ छ।
‘रातिको समयमा पेट्रोल हाल्ने ठाउँ पनि थिएन, हामीले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका पम्प २४ सै घण्टा खुलेका छन्,’ उनले भने, ‘अन्य पनि खुल्ने क्रममा छन् भन्ने सुनेको छु। त्यसकारणले चलायमान भए अर्थतन्त्र पनि चलायमान हुन्छ, रोजगारीका अवसर पनि हुन्छन्।’
कर्मचारीमाथि दबाब वा राजनीतिक आग्रह, पूर्वाग्रहविना नै काम गर्ने वातावरण बनाइने उनको जिकिर छ। ‘सबै गुनासाहरु यथोचित ढंगले सम्बोधन हुन्छ, म जानकार छु, यसमा सबै समस्या समाधान हुनेछन। सेवाअवधि लगायत सबै विषयहरु एकमुष्ट रुपमा सम्बोधन हुन्छ,’ उनले भने, ‘राष्ट्रसेवकहरुलाई कहीँ कतै अन्याय नपरोस्, सेवामा खटिएका सम्पूर्ण प्रहरी जवानदेखि माथिल्ला अफिसरसम्म कुनै अन्याय नहोस्, कसैमाथि पनि दबाब वा राजनीतिक आग्रह, पूर्वाग्रह नहोस्।’
गृहमन्त्री लामिछानेले प्रहरीको मनोबल र सुधारको काम अझ अघि बढाउनका लागि नयाँ वर्षको दिनमा खुसीयाली साटासाट गर्न आफू सडकमा आएको पनि स्पष्टीकरण दिए।
Shares
प्रतिक्रिया