सभामुख देवराज घिमिरेले प्रतिपक्षी दलहरू नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई दोहोरो चरित्र प्रदर्शन नगर्न आग्रह गरेका छन्।
आइतबार बसेको प्रतिनिधिसभा बैठक सुरु हुनासाथ कांग्रेस र राप्रपाका सांसदहरू उठेर विरोध गरेका थिए।
त्यसअघि आइतबारनै कार्यव्यवस्था परामर्श समितिको बैठक बसेको थियो। सोही बैठकमा भएको समझदारी अनुसार प्रतिनिधिसभा बैठकमा पनि प्रदर्शन हुन सभामुख घिमिरेले आग्रह गरे।
‘भर्खरै मात्रै कार्यव्यवस्था परामर्श समितिको बैठकले गरेका निर्णय र त्यहाँ भएका समझदारीको बारेमा ध्यान आकृष्ट गराउन चाहन्छु,’ उनले भने, ‘आज हामी जरुरी विषयमा मात्रै प्रवेश गर्नेबारे एउटा समझदारी भएको कुरा यहाँ पनि जानकार हुनुहुन्छ भन्ने ठान्दछु।’
उनले कार्यव्यवस्था परामर्श बैठकमा एउटा र संसद्मा अर्को कुरा नगर्न समेत आग्रह गरे।
‘त्यहाँ एउटा कुरा गर्ने, यहाँ आएर अर्को कुरा गर्ने। यहाँ बसेर एउटा, तल बसेर अर्को कुरा गर्ने कस्तो खालको परिपाटीको विकास गर्छौँ। यस्तो गलत परिपाटीको विकास गर्न हामी उद्दत नहौँ। जे समझदारी भएको छ त्यही आधारमा अघि बढौँ,’ उनले भने।
Shares
प्रतिक्रिया