सुदूरपश्चिमको सत्ता समीकरणलाई लिएर नेकपा एकीकृत समाजवादीमा स्पष्ट दुई धार देखिएका छन्।
अध्यक्ष माधव नेपाल कांंग्रेससँग सहकार्य बढाउन लागिपरेका छन्। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एकीकृत समाजवादीबाट मुख्यमन्त्रीमा अघि सारिएका दीर्घ सोडारीप्रति अनिच्छुक देखिएपछि नेपाल कांग्रेससँग संवाद गर्न पुगेका छन्।
अध्यक्ष नेपालले यसबीचमा कांग्रेस नेता शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन्। कांग्रेसले प्रदेशदेखि केन्द्रसम्मै गठबन्धन गर्न एकीकृत समाजवादीलाई मनाउन खोजिरहेको छ।
सुदूरपश्चिममा यसअघि नै एकीकृत समाजवादी र कांग्रेस मिलेर नागरिक उन्मुक्ति पार्टीका लक्ष्मणकिशोर चौधरीलाई अघि सारेका थिए।
उक्त दाबी प्रदेश प्रमुखले अस्वीकार गरिदिएपछि अब एकीकृत समाजवादीले दीर्घ सोडारीलाई अघि सार्ने भएको छ। त्यसमा कांग्रेसको समर्थन जुटाउन नेपाल लागिपरेका हुन्। यसै क्रममा बुधबार साँझ उनले कांग्रेस सभापति देउवासँग भेटवार्ता गरेका हुन्।
यसअघि वैशाख २ गते एकीकृत समाजवादीकै नेता झलनाथ खनालले बालुवाटार पुगेर प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटेका थिए।
उक्त भेटपछि एकीकृत समाजवादीबाटै मुख्यमन्त्री बनाउन सत्तागठबन्धनको सहमति जुटाइएको थियो।
तर, एकीकृत समाजवादीले दीर्घ सोडारीलाई अघि सार्न खोजेपछि एमाले नेतृत्वले अनिच्छा प्रकट गरेको थियो।
अहिले समाजवादीमा हालको गठबन्धन तोड्न नहुने, बरु मुख्यमन्त्रीको उम्मेदवारको विकल्प खोज्नुपर्ने भन्ने एउटा समूहको धारणा छ भने अर्को समूहले गठबन्धन फेरेर भए पनि सोडारीलाई नै बनाउन जोड गरिरहेको छ।
खनालनिकट एक नेताले भने, ‘सत्ता गठबन्धन कुनै पनि हालतमा छाड्न हुँदैन भनेर उहाँ झलनाथ खनाल लागिरहनुभएको छ, तर अध्यक्ष नेपालले के गर्न खोज्नुभएको हो, थाहा भएन।’
आजै प्रधानमन्त्री प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच यस विषयमा छलफल हुन सक्ने र त्यहीँबाट निकासको प्रयास हुने बालुवाटार स्रोतले जनाएको छ।
उक्ता सुदूरपश्चिमका प्रदेश प्रमुखले दोस्रोपटक मुख्यमन्त्री दाबी गर्न दिएको समय पनि आज साँझ ५ बजे सकिँदै छ।
नागरिक उन्मुक्ति पार्टीभित्र संसदीय दलको नेताको आधिकारिकता विवाद रहेकाले हालसम्म कुनै पनि पक्ष बहुमत जुटाउन सक्नेमा ढुक्क छैनन्।
Shares
प्रतिक्रिया