नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच सुदूरपश्चिम प्रदेश सरकार बनाउने विषयमा छलफल भएको छ।
बुधबार देउवा र नेपालबीच छलफल भएको हो।
छलफलमा सुदूरपश्चिममा सरकार बनाउन सहयोगको लागि अध्यक्ष नेपालले देउवालाई आग्रह गरेका छन्।
जबकि केन्द्र सरकारमा एकीकृत समाजवादीसहित एमाले–माओवादी गठबन्धनमा छ।
सुदूरपश्चिमको मुख्यमन्त्रीमा एकीकृत समाजवादीका दीर्घ सोडारीलाई अघि सार्ने निर्णय भएको छ।
तर, सोडारीका विषयमा एमालेले सहमति जनाइसकेको छैन। सोही कारण मुख्यमन्त्रीमा दाबी पेश हुन सकेको छैन।
प्रदेश प्रमुख नजिर मियाले नयाँ सरकार गठनको दाबी पेश गर्न दिएको समयसीमा आज (वैशाख ६) साँझदेखि सकिँदैछ।
एमालेले साथ दिन आनाकानी गरेपछि एकीकृत समाजवादीका अध्यक्ष नेपालले देउवासँग भेट गरेका हुन्। नेता नेपाल पार्टीका नेताहरुलाई आँखाको उपचार गर्ने बताएर देउवालाई भेट्न पुगेका थिए।
‘आज ४ बजेर ५५ मिनेसम्म हामी एमालेलाई पर्खन्छौँ, यदि उसले समर्थन नगरे अल्टरनेटिभ वे मा जानैपर्छ,’ एकीकृत समाजवादीका एक पदाधिकारीले नेपालखबरसँग भने, ‘यदि विकल्पतिर जानुपर्यो भने आजै गठबन्धन तोडिन्छ।’
फागुन २१ मा एमाले–माओवादी गठबन्धन बनेपछि एकीकृत समाजवादी पनि गठबन्धनमा सामेल भएको थियो।
त्यसअघि कांग्रेससहितको गठबन्धनमा थियो।
माधव नेपाललाई प्रधानमन्त्री बनाउन जुनसुकै बेला गठबन्धन भत्काउन तयार रहेको ती पदाधिकारीले बताए।‘माधवजी र शेरबहादुर जीबीच नियमित भेटवार्ता भइरहेको छ,’ उनले थपे।
सुदूरपश्चिमको मुख्यमन्त्रीमा सोडारीलाई अघि सार्न केन्द्रबाटै निर्णय गराउनुको मुख्य कारण कांग्रेसको ‘ग्रीन सिग्नल’ हो।
एमालेले सोडारीको नाममा अडान लिइराखे जुनसुकै बेला गठबन्धनमा गडवडी आउने देखिन्छ। वैशाख ४ गते दिउँसो एकीकृत समाजवादीलाई मुख्यमन्त्री दिने सहमति गरेर गठबन्धनको संकट टारिएको थियो।
Shares
प्रतिक्रिया