नेपाल कम्युनिस्ट पार्टीका संस्थापक सदस्य नरबहादुर कर्माचार्यको स्मृति दिवसमा नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानले च्यासलस्थित एमाले कार्यालयमा कार्यक्रम आयोजना गरेको छ।
जारी कार्यक्रममा प्रधानमन्त्री प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललगायत नेता सहभागी छन्।
आयोजकका अनुसार कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पनि सहभागी गराउने तालिका थियो। तर अस्वस्थताका कारण आफू उपस्थित हुन नसकेको सन्देश ओलीले पठाएका छन् ।
‘हामीले तीनै जना कम्युनिस्ट शीर्ष नेतालाई सहभागी गराएर कार्यक्रम राखेका हौँ, नेपालमा कम्युनिस्ट स्थापना भएको ७५ वर्ष पुगेको अवसर पारेर’, स्मृति प्रतिष्ठानका महासचिव प्रल्हाद बुढाथोकीले भने।
सत्ता साझेदार नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपाल सत्ता गठबन्धनसँग असन्तुष्ट भइरहेका बेला माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डसँग एउटै मञ्चमा देखिएका हुन्।
ओली अस्वस्थ नभएको भए आज सत्ता साझेदार तीनै कम्युनिस्ट पार्टीका शीर्ष नेता एउटै मञ्चमा देखिने थिए।
माधव नेपाल पार्टी विभाजन गरेयता पहिलोपटक एमाले पार्टी कार्यालयमा उपस्थित भएका हुन्।
Shares
प्रतिक्रिया