नेकपा (एमाले) का अध्यक्ष एव्म पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल वामपन्थी एकता सम्भव नरहेको बताएका छन्।
सोमवार ललितपुरको गोदावरीथित सनराइज हलमा आयोजित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थापनाको हिरक महोत्सव समारोहमा बोल्दै ओलीले आफू तत्काल एकताको पक्षमा नरहेको स्पष्ट पारेका हुन्।
प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालप्रति लक्षित गर्दै उनले ‘अहिले नै मिलौं भन्ने हो भने विगतमा किन फुटेको?’ भनी प्रश्न पनि गरे।
उनले भने, ‘अहिले हामी सहकार्यको माध्यामबाट निकट हुँदै जान्छौं। अहिले सहकार्यको माध्यामबाट अगाडि बढ्छौ। र क्रमशः हामी एकताको बाटोमा पुग्न सक्छौं। त्यस बिन्दुमा पुग्न सक्छां। तर अहिलेनै एकीकरण गरौं, देशभरीका सबै मिलौं भन्ने हो भने फुटेका किन थियौं? के भएर फुटेका थियौँ?’
ओलीले एमालेले नाजायज ढंगले कुनैपनि खालको अडान नराख्ने जिकिर समेत गरे।
उनले सामाजिक विद्वेश भड्काउन कुरा नगर्न पनि आग्रह गरे। यस्तै, प्रतिगमन भनेर जनता अल्मल्याउने काम नगर्न पनि आग्रह गरे।
‘अहिले नयाँ कुरा के के न उठेजस्तो यस्तो गर्नुपर्ने आवश्यक्ता छैन। हिजो पनि मेची अञ्चल थियो, कोशी अञ्चल थियो। यस्तो थिए हिजो पनि नाम’, उनले भने, ‘अब एउटा कुनातिर बसेर केहीमान्छे देखिहाल्यो भने हौसिएर प्रतिगमनका कुरा गर्ने यस्ता खालका कुराहरु छोडौं। साम्प्रदायिक विद्धेष भड्काउने यस्ता खालका कुराहरु छाडौं।’
ओलीले संघीय लोकतान्त्रिक गणतन्त्रको सबलीकरणका लागि सबै राजनीतिक शक्तिहरु एक ठाउँमा उभिनुपर्नेमा पनि जोड दिए।
उनले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र सबलीकरणको बाटोमा सबै एक ठाउँमा उभिने मिल्ने अवस्था रहेको पनि बताए। विद्यमान व्यवस्थालाई माध्यम बनाएर सुशासन र विकासको काममा अघि बढ्नुपर्ने उनको भनाई थियो।
अध्यक्ष ओलीले पूर्वराज्ञा ज्ञानेन्द्र शाहप्रति संकेत गर्दै प्रतिगमनको कुरा गरेर कहीँ पनि पुग्न नसकिने बताए। उनले सरकार र वर्तमान सत्तारुढ दलहरुले पनि मुलुकबाट गरिबी हटाउने गरी ठोस योजना बनाउने, भ्रष्टाचारको अन्त्य गर्ने र राष्ट्र र राष्ट्रिय हितको पक्षमा अघि बढ्नुपर्ने बताए।
Shares
प्रतिक्रिया