राष्ट्रपति रामचन्द्र पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा कतारका अमिर (राजा) शेख तमिम विन हमाद अल थानीलाई नेपाली सेनाले २१ तोपको सलामी अर्पण गरेको छ।
नेपालको दुई दिने राजकीय भ्रमणमा मंगलबार अपराह्न नेपाल आइपुगेका थानीलाई राष्ट्रपति पौडेलले त्रिभुवन विमानस्थलको अति विशिष्ट कक्षमा स्वागत गरेका थिए।
सोलगत्तै नेपाली सेनाले उनको सम्मानमा २१ तोपको सलामी दिएको थियो।
सो अवसरमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, उपप्रधानमन्त्री, मन्त्री, पराराष्ट्र मन्त्रालयसहितका उच्च पदस्थ सरकारी अधिकारीहरूको उपस्थिति थियो।
कतारका अमिरको यो पहिलो नेपाल भ्रमण हो। कतारका अमिरको भ्रमणका अवसरमा सरकारले मङ्गलबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
कतारका अमिर थानीले मङ्गलबार नै राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रपति भवन शीतल निवासमा भेटघाट गर्नेछन्। त्यस्तै साँझ राष्ट्रपति पौडेलले सोल्टी होटेलमा आयोजना गर्ने रात्रिभोजमा उनी सरिक हुनेछन्।
Shares
प्रतिक्रिया