प्रतिनिधि सभा सदस्य चयनका लागि शनिबार इलामको निर्वाचन क्षेत्र नम्बर २ मा सम्पन्न उपनिर्वाचनको मत अहिले बिहान ११ बजे गन्न सुरु गरिने भएको छ।
इलामका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले नेपालखबरसँग भने, ‘सर्वदलीय बैठकले अहिले बिहान ११ बजेबाट मतगणना थाल्ने निर्णय गर्यो।’
मतगणनामा सहमति गर्न बिहान सबै राजनीतिक दल उम्मेदवारसहित सरोकारवालाको सर्वदलीय बैठक बसेको हो।
बैठकको सहमतिअनुसार अब ११ बजेदेखि मत गन्न थालिने प्रमुख जिल्ला अधिकारीले यादवले जानकारि दिए।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार सबै मतदान केन्द्रबाट मतपेटिका इलामस्थित गौतम बुद्ध सभा हलमा जम्मा पारिएको छ।सो हलका दुई स्थानमा मतगणना हुने छ।
मतगणना स्थलमा सुरक्षा व्यवस्था कडा पारिएको छ। मतगणना स्थलमा तारले घेरेर सीसीटीभी जडान गरिएको छ।
इलाम २ मा शनिबार भएको मतदानमा १ लाख १५ हजार ८ सय ८९ मतदातामध्ये ६६९ हजार २ सय ८७ जनाले मतदान गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। यो भनेको ५९ दशमलव ७९ प्रतिशत मत खसेको हो।
इलाम–२ मा १२ राजनीतिक दल र ७ स्वतन्त्र गरी जम्मा १९ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्। उक्त क्षेत्रमा नेकपा एमालेका सुहाङ नेम्बाङ, नेपाली कांग्रेसका डम्बर खड्का, रास्वपाका मिलन लिम्बू र स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमबीच मुख्य प्रतिस्पर्धा हुने अनुमान छ।
Shares
प्रतिक्रिया