इलाम-२ को मतगणनामा सदरमुकाम इलाम बजारदेखि पश्चिममा पर्ने फाकफोकथुम गाउँपालिकाको परिणाम सार्वजनिक भएको छ।
यस गाउँपालिकामा ७ वटा वडाहरू छन्। भौगोलिक रूपमा विकट यस पालिकाको अघिल्लो स्थानीय निर्वाचनमा ३ वटामा नेकपा एमाले र ४ वटामा नेपाली कांग्रेसका उम्मेदवारले जित हात पारेका थिए।
एमालेले वडा नम्बर ३, ५ र ६ मा जित्दा १, २, ४ र ७ कांग्रेसले जितेको थियो। गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा दुवै एमाले नै जित्यो।
त्यस चुनावमा नेपाली कांग्रेस र माओवादी केन्द्रबीच गठबन्धन थियो। विशेष गरी गाउँपालिका अध्यक्ष र उपाध्यक्ष पदमा गठबन्धन थियो।
अध्यक्षमा माओवादीले कांग्रेसलाई र उपाध्यक्षमा कांग्रेसले माओवादीलाई सहयोग गर्ने समझदारी थियो। तर, यहाँ नेकपा एमालेले नै अध्यक्ष (दीपेन्द्र राई) र उपाध्यक्ष (कल्पना राई) दुवै आफ्नो पोल्टामा पार्न सकेको थियो।
०८१ को उपनिर्वाचनसम्म आइपुग्दा नेकपा एमाले र माओवादी केन्द्रबीच सहकार्य भएको छ। यहाँबाट आएको परिणामले कांग्रेसको सुरुवाती अवस्थामा देखिएको उत्साह कम भएको छ।
कांग्रेस उम्मेदवार डम्बरबहादुर खड्का वडा नम्बर १, २ र ३ मा अघि थिए। वडा नम्बर ४ को मतगणना सुरु भएदेखि नेकपा एमालेले अग्रता आफ्नो पोल्टामा पार्यो। ४ नम्बर वडामा आएपछि एकैपटक ३ सय ४५ मतान्तर बनाएका सुहाङ नेम्बाङले त्यसयता मतान्तर बढाउँदै लगेका छन्। जुन कुरा कांग्रेसका लागि अप्रत्यासित भए पनि एमालेको पहिलादेखिकै रणनीति हो।
दुई कम्युनिस्ट मिल्दा एकअर्काको भोट ट्रान्स्फर हुने वा नहुने पार्टीभित्र चुनावकै बेला चर्चा चल्न थालेको थियो।
पछिल्लो मतपरिणाम अनुसार सुहाङले ४ हजार ४ सय १३ मत प्राप्त गरेका छन्। उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले ३ हजार २ सय ५८ मत प्राप्त गरेका छन्।
उनीहरूबीचको मतान्तर १ हजार १ सय १५ पुगेको छ।
त्यस्तै, स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले ९ सय ६३ मत प्राप्त गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार मिलन लिम्बुले ६ सय ४५ मत मात्र पाएका छन्।
यसैबीच शनिबार भएको प्रारम्भिक गणनाको रुझानले नेकपा एमाले उत्साही देखिन्छ। यसअघि कांग्रेसले लगेको भोट केन्द्रमा बनेको चुनावी गठबन्धनका कारण आफूतिर आएको एमालेको बुझाइ छ।
चुनावको रणनीति बनाउनुअघिदेखि नै एमाले नेतृत्वले फाकफोकथुमलाई माओवादीको मत तान्न सकिने ठाउँको रूपमा लिएको थियो।
यसअघि कांग्रेसले जितेको वडामा माओवादीको पनि भोट मिसिएको थियो। एमालेले यही क्षेत्रबाट कांग्रेस उम्मेदवार खड्कालाई पछि पारेको छ।
जस्तो कि, अघिल्लो निर्वाचनमा वडा नम्बर ४ मा कांग्रेसले १ हजार १९ मत ल्याएको थियो। एमालेको ८ सय ६८ मात्रै थियो। यसपटक एमालेले पहिलाको मत बढाएर ९ सय १२ बनाएको छ। कांग्रेस भने झण्डै आधा कम अर्थात् ५ सय ३९ मा झरेको छ।
त्यही मत पहिचान पक्षधर थेगिम र रास्वपाका लिम्बुलाई बाँडिँदा खड्काले यस वडाबाट मत कम पाए।
यसले चुनावी मतपरिणाम झनै रोचक बन्दै गएको छ।
देशभरको चासो रहेको यस क्षेत्रको प्रारम्भिक नतिजाले नयाँ दल र स्वतन्त्र उम्मेदवारमा भने निराशा पैदा गरेको छ।
यहाँको मतगणनाले दिएको प्रारम्भिक रुझानले मुख्य गरी नेपाली कांग्रेस र नेकपा एमालेकै प्रतिस्पर्धा हुने देखाएको छ। तर, सहरी क्षेत्रको भोटमा नयाँ दल रास्वपाको आस हराएको छैन।
माङ्सेबुङ, चुलाचुली लगायतका क्षेत्रलाई प्रभावशाली मानेका स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बु थेगिमका समर्थक पनि मत बढ्न सक्ने आशामा छन्।
पहिचान पक्षधरको गढ मानिने चुलाचुलीको मतगणना अहिले भइरहेको छ। यहाँबाट केही मत बढ्न सक्ने पहिचान पक्षधरका नेताहरूको बुझाइ छ।
६९ हजारभन्दा बढी मत खसेको यस क्षेत्रमा हालसम्म १० हजार हाराहारी मात्र गणना भएको छ। त्यसैले अन्तिम नतिजा यही नै हुन्छ भन्न त सकिँदैन। तर, सुरूवाती रूझान हेर्दा नयाँ र स्वतन्त्रका पक्षमा इलामको जनमत छैन कि भन्नेसम्मको संकेत भने देखाएको छ।
Shares
प्रतिक्रिया