सभामुख देवराज घिमिरेले संसदीय समितिमा रहेका विधेयकहरुलाई छिटोभन्दा छिटो पारित गरेर संसदमा ल्याउन निर्देशन दिएका छन्।
मंगलवार संसदीय समितिका सभापतिहरु र राष्ट्रिय दलका प्रमुख सचेतक तथा सचेतकहरुसँगको बैठकमा बोल्दै सभामुख घिमिरेले समितिमा रहेका विधेयकहरुलाई पारित गरेर संसदमा ल्याउन निर्देशन दिएका हुन्।
उनले समितिमा छलफलको क्रममा रहेका विधेयकहरुलाई संसदको आगामी अधिवेशन आह्वान हुनुभन्दा अगाडी नै बैठक बसि टुंग्याउन निर्देशन दिएका छन्। बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सभामुख घिमिरेले बैठकमा समितिमा भएका विधेयकहरुको अवस्थाको बारेमा जानकारी लिएको बताए।
उनले आगामी अधिवेशनमा संसदमा आउने अवस्थामा के कति विधेयकहरु छन् भन्ने सन्दर्भमा जानकारी लिएको र आगामी अधिवेशनमा विधेयक ल्याउनेगरी तयारीस्वरुप बैठक राखिएको बताए।
सभामुख घिमिरेले आवश्यक पर्दा आगामी अधिवेशनलाई सहज रुपमा अगाडी बढाउनका लागि राजनीतिक दलका शिर्ष नेताहरुसँग छलफल गर्ने पनि बताए।
उनले भने – ‘विधेयकहरु अझैपनि कतिपय छलफल भएर टुंगिएका छैनन्। तिनीहरुलाई अधिवेशन आह्वान हुनुभन्दा अगाडी नै छिटो समितिका बैठकहरु बस्ने। बनेका उपसमितिका बैठकहरुले पनि समितिलाई प्रतिवेदनहरु दिने र यसलाई छिटो टुंग्याउने काममा गति दिने कुरामा छलफल र एउटा भावनात्मक वा निर्णय, निष्कर्षमा पुगेर बैठक सकिएको छ। आजपनि मैले के आव्हान गरेको छु भने हाम्रो तयारी गरौँ। अधिवेशनमा आउने अप्ठ्याराहरुलाई हल गर्नका लागि सबैले भुमिका निर्वाह गरौँ। ताकि तयारीका साथ अगाडी जान सकोस् भन्ने कुरा हो। यो पनि एउटा पहल हो। आवश्यक परेमा शिर्ष तहमा छलफल संयुक्त, अलग–अलग रुपमा गर्छु।’
अर्थ समितिका सभापति सन्तोष चालिसेले सभामुखले समितिमा रहेका विधेयकलाई चाँडोभन्दा चाँडो पारित गरेर ल्याउन निर्देशन दिएको बताए। उनले समितिको बैठक बस्दा गणपूरक संख्या नपुग्ने समस्या रहेको भन्दै समितिलाई परेका अफ्ठ्याराहरुको बारेमा पनि समिति सभापतिहरुले सभामुख समक्ष राखेका जानकारी दिए।
उनले आगामी बजेटमा संसदीय समितिहरुलाई पनि पर्याप्त बजेट विनियोजन गर्न ध्यानाकर्षण गराइएको पनि बताए। उनले समिति बैठकमा सांसदहरुको अनिवार्य उपस्थितिका लागि दलका सचेतकहरुलाई पनि आग्रह गरिएको बताए।
उनले समिति सभापतिहरुसँग सभामुखले महिनाको एकपटक बैठक बस्ने निर्णय गरिएको पनि बताए।
Shares
प्रतिक्रिया