वैदेशिक रोजगारमा पठाउने भन्दै नक्कली कन्सल्टेन्सी सञ्चालन गरेर ठगी गरेको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले धादिङको धुनीबेसीका ३१ वर्षीय जिवा गौतम भन्ने रमेश बयलकोटी र कालिकोटको छाप्रेका २७ वर्षीय दर्शन नेपालीलाई पक्राउ गरेको हो।
रोजगारको लागि बुल्गेरिया, न्युजिल्यान्ड, रोमानिया, सर्बिया, क्रोएसिया लगायतका दे्शमा पठाउने भन्दै ठगिएका पीडित प्रहरीको सम्पर्कमा पुगेका छन्।
उनीहरुले आफ्नो नक्कली नाम बताउने र अर्कै व्यक्तिको नाममा कम्पनी तथा बैंक खाता खोल्न लगाएको खुलेको छ।
रमेश बयलकोटीले काठमाडौँको कीर्तिपुर नगरपालिका ६ बस्ने ललितजंग बमलाई भिसा प्लस प्रालि नामको कन्सलटेन्सी दर्ता गर्न लगाएका थिए। सामाजिक सञ्जालमा वैदेशिक रोजगारीको लागि रोमानिया, न्युजिल्यान्ड, बुल्गेरीया, मकाउ, टर्की, सर्बिया, क्रोएसिया लगायतका देशमा जाने अवसर रहेको भनी विज्ञापन गरेको प्रहरीले जनाएको छ।
पछि कन्सलटेन्सीमा नै बोलाई ४२२ जनालाई प्रतिव्यक्ति १० लाख देखि १४ लाख लाग्ने बताउने गरेको अनुसन्धानमा खुलेको छ।
सुरुमा ५० हजारदेखि ३ लाख रुपैयाँसम्म लिने र भिसा आएपछि अरु रकम दिनु पर्ने सर्त राखेका थिए।
उनीहरुले रकम संकलन गर्नका लागि कर्मचारी खटाउने गरेका थिए। कन्सलटेन्सी सञ्चालन गर्दा ललितजंग बम आफू ठगिएको भन्दै उपत्यका अपराध अनुसन्धान कार्यालयमा पुगेपछि ठगीको रहस्य खुलेको हो।
कन्सल्टेन्सी सञ्चालक आफैँले जाहेरी दिएपछि प्रहरीले अनुसन्धान अगाडि बढाएको थियो।
उनको जाहेरीकै आधारमा प्रहरीले रमेश बयलकोटीलाई महाराजगञ्जबाट र अर्का सञ्चालक दर्शन नेपालीलाई कागेश्वरी नगरपालिकाबाट पक्राउ गरेको हो।
उनीहरुको साथबाट प्रहरीले ८४ थान राहदानी पनि बरामद गरेको एसएसपी भट्टराईले बताए। उनीहरुको कोठाबाट १८२ जनाको रेकर्ड पनि फेला परेको प्रहरीले जनाएको छ।
उनीहरुले विदेश जानेका लागि देश अनुसार लागत निर्धारण गरेका थिए। न्युजिल्यान्डका लागि १६ लाख, बुल्गेरियाका लागि ७ लाख, रोमानियाका लागि ७७ लाख र क्रोयसियाका लागि १२ लाख रुपैयाँ तोकेको प्रहरीले जानकारी दिएको छ।
थप कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु पठाएको छ।
Shares
प्रतिक्रिया