प्रधानमन्त्री केपी शर्मा ओलीले ६९ औं जन्मदिन आफ्नै जन्मथलो तेह्रथुमको आठराई गाउँपालिका–४ सल्लेमा मनाउने भएका छन्। ओली २००८ फागुन ११ गते इवाको सल्लेमा जन्मिएका हुन्।
‘६९ औं जन्मदिनको अवसरमा जन्मथलो जान लाग्नु भएको हो। अन्य कार्यक्रम पनि छन्,’ प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले भने।
ओलीले बिक्री भइसकेको आफ्नो जन्मघर पनि केही वर्षअघि किनिसकेका छन्।
२०२४ सालमा ओलीका पिता मोहनप्रसाद साढे ११ हजार रुपैयाँमा सो घर बिक्री गरेर झापा झरेका थिए। सोही घर र घर रहेको ३० रोपनी जग्गा ओलीले २०७२ मा साढे १० लाख रुपैयाँमा किनेका थिए। बुबा मोहनप्रसादकै आग्रहमा उनले घर र जग्गा किनेका हुन्।
ओलीको झापाको दमकमा पनि घर छ। प्रधानमन्त्री ओलीको हालको स्थायी ठेगाना भने भक्तपुरको बालकोट हो।
प्रधानमन्त्री ओली दोस्रो पटक मिर्गौला प्रत्यारोपणको तयारीमा छन्। पछिल्लो समय उनी नियमित डायलासिस गराइरहेका छन्। मंगलबार मात्र उनको एन्जियोग्राफी गरिएको थियो।
सरकार सञ्चालनको व्यस्तता, नियमित डायलासिस र दोस्रो मिर्गौला प्रत्यारोपणअघिका स्वास्थ्यपरीक्षणका बीच पनि उनले जन्मस्थलमै गएर जन्मदिन मनाउने इच्छा देखाएका हुन्।
प्रधानमन्त्रीको सचिवालयका सदस्य इन्द्र भण्डारीले त्यसदिन पाँचथर र तेह्रथुममा खानेपानी तथा सडक आयोजनाको शिलान्यास गर्ने कार्यक्रम रहेको बताए।
‘पाँचथरमा खानेपानी आयोजना र तेह्रथुममा सडक उद्घाटन गर्ने कार्यक्रम छ। त्यसै समयमा उहाँ आफ्नो जन्मस्थल पनि जानु हुने छ,’ भण्डारीले भने, ‘जन्मदिन मनाउने खासै कार्यक्रम होइन। स्थानीय साथी भाइले मनाउने कार्यक्रम हुनसक्छ।’
ओलीले आफ्नो जन्मस्थल सल्लेबाट ताप्लेजुङको ढुंगेसाँघु जोड्ने सडकको शिलान्यास गर्नेछन्।
आठराई गाउँपालिकाका अध्यक्ष मनबहादुर लिम्बुले ढुंगेसाँघु जोड्ने सडकको ठेक्का लागिसकेको र शिलान्यासका लागि प्रधानमन्त्री तेह्रथुम आउन लागेको जानकारी दिए।
प्रधानमन्त्रीको सचिवालयले तेह्रथुम र पाँचथरका जिल्ला प्रशासन कार्यालयलाई सुरक्षा लगायत आवश्यक प्रबन्ध गर्न निर्देशन दिइसकेको छ।
नेकपाका अन्य नेताहरुको तुलनामा प्रधानमन्त्री ओलीले जन्मदिनलाई विशेष रुपमा मनाउँदै आएका छन्। आफ्नो मात्रै होइन, अन्य नेताहरुको जन्मदिनलाई पनि प्रधानमन्त्री ओलीले महत्व दिने गरेका छन्।
‘गाउँमा प्रधानमन्त्रीका बाल्यकालका साथीहरु थुप्रै हुनुहुन्छ। उहाँको जन्मदिन पनि परेको हुनाले त्यससम्बन्धी कार्यक्रम पनि हुनसक्छ,’ लिम्बुले भने।
प्रधानमन्त्री हुँदा बालुवाटारमा र पार्टीका अध्यक्ष हुँदा भक्तपुरको बालकोटस्थित आफ्नै निवासमा जन्मदिन भएका नेताहरुलाई बोलाई केक काट्ने व्यवस्था समेत उनले गर्दै आएका छन्। नेता माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतमसहितका नेताको जन्मदिनमा ओलीले केक काटेका थिए। यस्तो अवसरलाई उनले नेताहरुसँगको सम्बन्ध सुधारको माध्यम पनि बनाउने गरेका छन्।
त्यसैगरी आगामी शुक्रबार प्रधानमन्त्री ओलीले आफ्नो धारणा र काम समेटिएको पुस्तक ‘भिजन टु एक्सन’ सार्वजनिक गर्ने कार्यक्रम छ।
प्रतिक्रिया