ad ad

राजनीति


प्रेस स्वतन्त्रताबिना लोकतन्त्र पूर्ण हुँदैन: सञ्चारमन्त्री

प्रेस स्वतन्त्रताबिना लोकतन्त्र पूर्ण हुँदैन: सञ्चारमन्त्री

फाइल तस्बिर


नेपालखबर
बैशाख २१, २०८१ शुक्रबार ७:४६, काठमाडौँ

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताबिना लोकतन्त्र पूर्ण नहुने बताएकी छन्। 

विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै शर्माले यस्तो बताएकी हुन्। उनले सञ्चारजगत लगायत सबैमा प्रेस स्वतन्त्रता दिवसको शुभकामना पनि दिएकी छन्।

उनको शुभकामना सन्देशमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका लागि भएका सङ्घर्षहरूमा आफ्नो अमूल्य जीवन बलिदान गर्ने सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै घाइते, अपाङ्गलगायत प्रेस स्वतन्त्रताको आन्दोलनमा योगदान गरेकाहरूप्रति  सम्मान प्रकट गरिएको छ।

सन् १९९३ मा भएको संयुक्त राष्ट्रसङ्घीय साधारणसभाको घोषणापछि युनेस्कोको आह्वानमा हरेक वर्ष ३ मे का दिन नेपालसहित विश्वभर प्रेस स्वतन्त्रता दिवस मनाउने गरिएको छ।

‘यो दिवसले विगतको यथार्थ समीक्षासहित आगामी दिनमा प्रेस स्वतन्त्रताको पक्षमा कार्यक्रम तय गर्न सहयोग पुग्ने विश्वास लिएको छु,’ शर्माले भनेकी छन्।

‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताबिना लोकतन्त्र पूर्ण हुन सक्दैन । संविधानको प्रस्तावनामै राखिएको पूर्ण प्रेस स्वतन्त्रतालाई संरक्षण र कार्यान्वयन गर्न सरकार प्रतिबद्ध छ । प्रेस स्वतन्त्रता थप सुनिश्चित गर्नेगरी विगत एक वर्षदेख सञ्चारसँग सम्बन्धित कानुन निर्माण तथा पुनरावलोकनको काम भइरहेको छ । सञ्चारसम्बद्ध संस्था तथा यस क्षेत्रका विज्ञहरूको राय–सुझावका आधारमा कानुनको मस्यौदा गर्ने, त्यसमाथि सरोकारवाला र आम नागरिकको राय–सुझावसमेत लिएर पारदर्शी र लोकतान्त्रिक विधिबाट कानुन निर्माण गर्ने कार्यलाई सरकारले प्राथमिकता दिएको छ,’ सञ्चारमन्त्री शर्माको शुभकामना सन्देशमा भनिएको छ। 

उनले आमसञ्चार क्षेत्रको स्वनियमन प्रवर्द्धनमा केन्द्रित रहेर तयार गरिएको मिडिया काउन्सिल विधेयक भर्खरै सङ्घीय संसद्मा दर्ता भएको भन्दै आमसञ्चार विधेयक पूर्वविधायिकी चरण पूरा गर्ने प्रक्रियामा बताएकी छन्।

प्रेस स्वतन्त्रतालाई बलियो बनाउन सूचनाको हकसम्बन्धी ऐन, श्रमजीवी पत्रकार ऐनलगायत विद्यमान कानुनको कार्यान्वयनमा सरकार दृढ रहेको,  प्रेस स्वतन्त्रताको प्रत्याभूतिमा देखिएका ‘डिजिटल’लगायतका चुनौती कम गर्न ‘राष्ट्रिय साइबर सुरक्षा नीति, २०८०’ जारी गरिएको, नागरिकले सत्य सूचना जान्न पाउने अधिकार स्थापित गर्न साइबर सचेतनाका कार्यक्रममा जोड दिइएको उल्लेख गर्दै शर्माले प्रेस स्वतन्त्रताको सवालमा क्रियाशील राष्ट्रिय–अन्तर्राष्ट्रिय संस्थाहरूको चासोलाई सरकारले नजिकबाट हेरिरहेको उल्लेख गरेकी छन्। 

‘पत्रकारिता र पत्रकारको पेसागत तथा भौतिक सुरक्षाका सवालमा सरकारले कसैसँग कुनै  सम्झौता गर्ने छैन । विभिन्न सञ्चारगृहमा देखिने श्रम समस्या समाधानका लागि सहजीकरण गर्न र कानुनी प्रक्रियाअनुसार श्रमजीवी पत्रकारका हक स्थापित गर्न सरकार प्रतिबद्ध छ’, शुभकामना सन्देशमा भनिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .