नेकपा एमालेका नेता पार्वत गुरुङले नेपालमा देश बलियो बनाउने भन्दा व्यक्ति बलियो हुने परिपाटी विकसित भइरहेको बताएका छन्।
शुक्रबार काठमाडौंमा नेपाल पत्रकार महासंघको २७ औँ महाधिवेशनमा बोल्दै उनले मर्यादित नेपाल, मर्यादित समाज निर्माण गर्नको लागि पत्रकारको भुमिका महत्वपूर्ण हुने उल्लेख गर्दै देश बलियो भएमात्रै सबै बलियो हुने बताए।
आज समृद्ध नेपाल, मर्यादित नेपाल, मर्यादित समाज निर्माण गर्नको लागि पत्रकारको भुमिका कस्तो हुनुपर्छ? कस्तो पत्रकार भयो भने समृद्ध नेपाल बन्नसक्छ? यो चिन्तन गर्ने थलो हो। आज देशको पनि समीक्षा होस्,’ उनले भने।
देश कमजोर हुँदा सबै कमजोर हुने भन्दै उनले सबैले मिलेर देश बनाउनुपर्ने बताए। उनले अहिलेको प्रतिस्पर्धा व्यक्ति बलियो हुने देश कमजोर बनाउनेमा भइरहेको जिकिर गर्दै देश कमजोर भएकाले सबैले कमजोर महशुस गरेको अवस्था रहेको पनि बताए।
‘देश कस्तो बनाउने हो? देश कता जाँदैछ। देश बलियो भयो भनेमात्रै हामी बलियो हुन्छौँ। पत्रकार, नेता, जनता बलियो हुने हो। जब देश कमजोर हुन्छ हामी सबै कमजोर हुन्छौँ। हामी नेपालमा व्यक्ति बलियो हुने की राज्य बलियो हुने यो एउटा प्रतिष्पर्धामा हाम्रो नेपालमा व्यक्ति बलियो हुने देश कमजोर बनाउने काम भइरहेको छ,’ उनले भने, ‘देश कमजोर हुनु भनेको हामी सबै कमजोर हुनु हो। देश कमजोर भएकाले सबैले कमजोर महशुस गरेको अवस्था छ। हामी सबै नैतिक रुपमा कमजोर हुनुपरेको अवस्था छ। हामीले नैतिक बल कमजोर गरेका छौँ।’
नेता गुरुङले नेकपा एमालेको मिसन ०८४ देश बनाउने मिसन रहेको बताए।
Shares
प्रतिक्रिया