भक्तपुरको दुवाकोटमा रहेको एउटा प्लाई कार्पेट कारखानामा आगलागी हुँदा दुई जना घाइते भएका छन्। आगलागीबाट झण्डै २ करोडको क्षति भएको प्रहरीले जनाएको छ।
स्थानीय सन्तोषमान श्रेष्ठको ज्योति प्लाई कार्पेट कारखानामा शनिबार मध्यराति आगलागी भएको प्रहरी परिसर भक्तपुरले जनाएको छ।
आगलागीमा परी रामेछापको लिखु तामाकोशी गाउँपालिका-६ घर भई हाल भक्तपुरको दुवाकोट बस्ने २३ वर्षीय बुद्धनारायण श्रेष्ठ र भारत घर भएका २९ वर्षीय मनु उर्वा घाइते भएका छन्।
घाइतेमध्ये उर्वाको अवस्था गम्भीर रहेको डीएसपी राजन कार्कीले जानकारी दिए।
उनलाई सुरुमा भक्तपुरको डा.इवामुरा अस्पतालमा सामान्य उपचार गरी थप उपचारका लागि राति नै कीर्तिपुर बर्न अस्पताल लगिएको प्रहरीले जनाएको छ। आगलागीको कारण खुलेको छैन।
भक्तपुरसँगै काठमाडौँ, ललितपुर र काभ्रेबाट गएका ७ वटा दमकलको सहायतामा आइतबार बिहान चार बजे आगो नियन्त्रणमा लिइएको थियो।
Shares
प्रतिक्रिया