नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपाली समाजमा आशा जगाउन सबै राजनीतिक दलहरू एक ठाउँमा उभिनुपर्ने बताएका छन्।
आइतवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सो आवश्यकता औंल्याएका हुन्। महामन्त्री शर्माले नेपाल कहिल्यै पराधीन नभए पनि सुगौली सन्धिपछि धेरै भूभाग गुमाउनुपरेको उल्लेख गर्दै ती भूभागलाई फिर्ता ल्याउने गरी आफूलाई बलियो बनाएर अघि बढ्न नेपालका राजनीतिक दलहरू सबै मिल्नुपर्ने बताए।
महामन्त्री शर्माले भने, ‘हामीलाई कक्षा कोठामा सानैदेखि के पढाइयो भने वीर गोरखाली तिमीले कसैसँग कहिल्यै पनि हारनौ भनेर। भक्ति थापालाई, अम्मरसिंह थापालाई, बलभद्र कुँवरलाई शिर निहुँर्याएर श्रद्धा गर्नुपर्छ। नेपाल देश कहिल्यै पनि पराधीन भएन। यो जति सत्य हो, अर्को सत्य त्यत्तिकै छ–हामी पराधीन भएनौं तर हामी पराजित भयौं।’
उनले थपे, ‘त्यो दार्जिलिङ हाम्रो थियो। त्यो देहरादुन हाम्रो थियो। त्यो कुमाउ, गढवाल हाम्रो थियो। आज हाम्रो छैन। तर हामीले जहिले पनि के भन्यौं भन्दा वीर गोरखाली तिमीले कहिल्यै हारेनौ भनेर। हामीले बुझाउनुपर्छ– हामी हारेका हौं।’
उनले नेपाल इतिहासको सबैभन्दा सुन्दर घडीमा रहेको र नेताहरू जनताको खरो प्रश्नभन्दा टाढा भाग्न नसक्ने अवस्था रहेकाले अब जनतामा आशा जगाउनका लागि साझा मनोविज्ञान बनाएर अघि बढनुपर्ने बताए। उनले निराशाको नाम दिनेभन्दा त्यसलाई असन्तुष्टिको बाटोबाट सन्तुष्टिको खोजी, नयाँ सपनाको खोजीतर्फ लिएर जानुपर्ने पनि बताए।
युवाहरूमा पनि नयाँ आशा भर्ने काममा सबै राजनीतिक दलहरुले काम गर्नुपर्ने महामन्त्री शर्माको भनाइ छ।
Shares
प्रतिक्रिया