नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले जनता समाजवादी पार्टीको विभाजनले आफ्नो पार्टीमा आउन लागेको भुईँचालो रोकिएको दाबी गरेका छन्।
सोमबार नेपालखबरसँग संक्षिप्त कुराकानी गर्दै खनालले अहिले पार्टी विभाजनको कुनै सम्भावना नरहेको बताए।
‘हाम्रो पार्टीमा यदि भुईँचालो आउनै लागेको भए पनि जसपाको हिजोको घटनाले त्यो टरेको छ,’ उनले भने, ‘यो घटनाले हाम्रो पार्टीलाई केमचेनको भूमिका खेलेको छ।’
खनाललाई भेट्न सोमबार बिहान अर्थमन्त्री वर्षमान पुन पनि उनको निवास पुगेका थिए। खनालसँगको भेटघाटका क्रममा अहिलेको समीकरणलाई थप बलियो बनाउने गरी छलफल भएको उनले बताए।
‘म त पहिल्यैदेखि वामपन्थी एकता हुनुपर्छ भनेर भनिरहेको मान्छे हुँ,’ उनले भने, ‘उहाँ (वर्षमान पुन)सँग पनि सोही विषयमा छलफल भयो। वामपन्थी एकतालाई अझै बलियो बनाऔँ भनेर कुराकानी भएको छ।’
पछिल्लो विकसित राजनीतिक घटनाक्रमका बारेमा सोमबार बस्ने संसदीय दलको बैठकमा छलफल हुने उनले बताए।
एकीकृत समाजवादीले सोमबार संसदीय दलको बैठक बोलाएको छ।
Shares
प्रतिक्रिया