जनता समाजवादी पार्टी (जसपा) ले पार्टीबाट विद्रोह गरेर नयाँ दल दर्ताका लागि अशोक राईसहितका नेताहरूले निर्वाचन आयोगमा दर्ता गराएको निवदेनलाई असंवैधानिक भनेको छ।
पार्टी प्रवक्ता मनिष कुमार ‘सुमन’ले सोमबार विज्ञप्ति जारी गर्दै पार्टी विभाजनको मनस्थिति बोकेर आयोग पुगेकाको विषयप्रति गम्भीर नहुन पनि केन्द्रीय सदस्य लगायतलाई आग्रह गरेका छन्।
‘हाल संसद अधिवेशन आह्वान भइसकेको अवस्था र दल विभाजन सम्बन्धी अध्यादेश खारेज रहेको साथै यस दलको बहुमत केन्द्रीय सदस्य यस दल प्रति नै प्रतिवद्ध रहेको अवस्थामा केही विभाजित मनस्थितिका व्यक्तिहरू निर्वाचन आयोग गई असंवैधानिक निवेदनको आधारमा दल विभाजन हुने अवस्था नरहेको हुँदा पार्टीका सम्पूर्ण केन्द्रीय सदस्य लगायत सबैमा कुनै पनि भ्रममा नपरी आ–आफ्नो पदीय जिम्मेवारी निर्वाह गर्नु हुन अनुरोध छ,’ विज्ञप्तिमा भनिएको छ।
जसपाको ३ सय ७६ सदस्यीय केन्द्रीय समिति छ। जसमा राईको पक्षमा ३१ जनामात्रै खुलेका छन्। त्यसमा पनि अधिकांशले हस्ताक्षर नगरेको प्रवक्ता सुमनले दाबी गरेका छन्।
जसपा कार्यकारिणी समिति १८ सदस्यीय छ। राईको पक्षमा ८ जना मात्रै उभिएका छन्।
यही हिसाबलाई आधार मानेर जसपाले आफ्नो पक्षमा बहुमत दाबी गरेको हो।
त्यस्तै, जसपा विभाजित भन्दै प्रकाशित भएका समाचारहरूमा पनि पार्टीको ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ।
Shares
प्रतिक्रिया