प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानको सहकारी ठगी प्रकरण छानविनका लागि संसदीय समिति नबनेसम्म संसद बैठक चल्न नदिने चेतावनी दिएका छन्।
शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै थापाले सदन अघि नबढ्ने कुराको जिम्मेवार आफ्नो पार्टी नरहेको पनि बताए।
‘संसदीय छानविन समिति नबनिकन अब सदनको कुनै पनि कामकारबाही अगाडि बढ्दैन। यसको जिम्मेवार हामी होइनौँ। यो सदन अघि नबढने कुराको जिम्मेवार नेपाली कांग्रेस होइन, सम्माननीय प्रधानमन्त्रीजी र सरकारको कामकारबाहीप्रति हाम्रो विश्वास रहेन,’ उनले भने।
थापाले राज्यका अंगहरूलाई नै ढाकछोप गरेर गृहमन्त्री लामिछानेलाई पखाल्न खोजेको आरोप समेत लगाए।
‘ढाकछोप गरियो राज्यको तमाम अंगहरुलाई। वासिङ मेशिन जस्तो प्रयोग गरियो। तपाईंहरूले धोएर धोइन्न, पखालेर पखालिन्न। दुधको दुध, पानीको पानी संसदीय छानविन समितिले छुट्टयाउँछ,’ उनले भने, ‘त्यसैले जबसम्म छानविन समिति बन्दैन। त्यो बेलासम्म अव हामीलाई भन्न पाईँदैन। बजेट जाओस्, नीति तथा कार्यक्रम जाओस्, सबै कुरा जाओस् भनेर यति धेरै प्रत्येक चोटीको भेटमा, सर्वदलीय बैठकमा सबै कुरा राखेर छानबिन समिति बनाऔं।’
Shares
प्रतिक्रिया