प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई आज संसद्मा नीति तथा कार्यक्रम प्रस्तुत गर्न अवरोध नगर्न आग्रह गरेका छन्।
आज बिहान छलफलका लागि सरकारी निवास बालुवाटार पुगेका महामन्त्री गगन थापा, प्रमुख सचेतक रमेश लेखकलगायत कांग्रेस नेताहरूसँग प्रधानमन्त्री प्रचण्डले सदन अवरुद्ध नगर्न र नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिन अनुरोध गरेका हुन्।
यस विषयमा अहिले बिहान बस्ने संसदीय दलको बैठकले निर्णय गर्ने कांग्रेसका प्रमुख सचेतक लेखकले बताएका छन्।
‘प्रधानमन्त्रीले नीति तथा कार्यक्रममा अवरोध नपुर्याउन र सदन चलाउन सहयोग गर्नुस भनेर भन्नुभयो, उहाँले सहकारी समस्या समाधानका लागि पहल गरिरहेको र गर्ने प्रतिबद्धता पनि जनाउनुभएको छ’, भेटवार्तापछि लेखकले भने, ‘उहाँले राखेको प्रस्तावबारे हामी दलको बैठकमा कुरा गर्नेछौँ र त्यहीँबाट निर्णय लिनेछौँ।’
आज बस्ने संसद् बैठकमा के कसरी प्रस्तुत हुने भन्ने विषयमा निर्णय गर्न अहिले बिहान ९ बजे कांग्रेस संसदीय दलको बैठक बस्दै छ।
सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेबारे छानबिनका लागि संसदीय समिति गठन गर्नुपर्ने माग गर्दै कांग्रेसले लगातार संसद् अवरुद्ध गरिरहेको छ।
छानबिन समिति नबन्दासम्म संसद्मा जारी अवरोधलाई निरन्तरता दिने अडान लिएको कांग्रेसले यस विषयमा के कसरी प्रस्तुत हुने भनेर अहिले बिहान बस्ने संसदीय दलको बैठकबाट निर्णय गर्ने तयारी गरेको छ। त्यसअघि कांग्रेस नेताहरूले प्रधानमन्त्री प्रचण्डसँग छलफल गरेका हुन्।
यसअघि हिजो सोमबार बिहान पनि कांग्रेस सभापति शेरबहादुर देउवासहितका शीर्ष नेताले बालुवाटार पुगेर प्रधानमन्त्रीसँग वार्ता गरेका थिए। आफूहरूको मागमा प्रधानमन्त्री सकारात्मक देखिएको दाबी कांग्रेस नेताहरूले गरेका थिए।
सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न आज दिउँसो ३ बजे प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठक बस्दै छ।
Shares
प्रतिक्रिया