ad ad

राजनीति


संसद् खुलाउने सहमतिको ड्राफ्ट तयार पार्दै स्वर्णिम–जीवन

संसद् खुलाउने सहमतिको ड्राफ्ट तयार पार्दै स्वर्णिम–जीवन

नेपालखबर
जेठ ३, २०८१ बिहिबार १५:१४, काठमाडौँ

संसदको अवरोध खुलाएर राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई संसदमा पहिला बोल्न दिन प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस तयार भएको छ। 

गृहमन्त्री रविले संसदमा बोलेपछि कांग्रेसका नेताहरू बोल्ने र त्यसपछि कांग्रेसले उठाइरहेको सहकारी छानवीन समिति बनाउने सहमति जुटेको एक सांसदले बताए।

सहमतिको मस्यौदा तयार पार्न नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियार र राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा. स्वर्णिम वाग्ले जुटेका छन्। 

‘एकपक्षीय, त्रिपक्षीय र बहुपक्षीय छलफलमा प्रधानमन्त्री जुट्नुभएको हो, आजै नयाँ समझदारी बन्दैछ,’ प्रचण्ड निकट ती सांसदले भने।

४ बजे बोलाइएको संसद बैठक अघि सहमति गरेर सो ड्राफ्टमा हस्ताक्षर गराउने तयार भइरहेको एक नेताले नेपालखबरलाई जानकारी दिए। 

‘उहाँहरू तीन चरण छलफलमा बसिसक्नुभएको छ,’ एक सांसदले नेपालखबरसँग भने, ‘आजै सहमतिको ड्राफ्ट तयार पारेर हस्ताक्षर हुन्छ र अवरुद्ध संसद खुल्छ।’

ती सांसदका अनुसार छानवीन समिति कुन मापदण्डमा बनाउने भन्नेबारे छलफल भइरहेको हो। 

‘समग्रमा कांग्रेसको माग सम्बोधन, अवरुद्ध संसद खुलाउने र सत्ता गठबन्धनमा समस्या नआउने गरी सहमतिको मस्यौदा तयार हुन्छ,’ उनले थपे। 

बुटवलको सुप्रिम र पोखराको सुर्य दर्शन सहकारीमा सर्वसाधारणको बचत रकम अपचलनमा गृहमन्त्री रविको नाम समेत जोडिएको भन्दै कांग्रेसले छानवीन समिति बनाउन माग गर्दै संसद अवरुद्ध गरिरहेको छ।

कांग्रेसको अवरोधका कारण संसदमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गरेको नीति तथा कार्यक्रमलाई धन्यवाद ज्ञापन पनि हुन पाएको छैन।

आगामी आर्थिक वर्षको बजेटमाथि नै छलफल प्रभावित हुने भएपछि प्रधानमन्त्री प्रचण्डले कांग्रेस र रास्वपाबीच सहमतिको अन्तिम प्रयास थालेका थिए। 

सोही प्रयासलाई मूर्त रुप दिन सभामुख देवराज घिमिरेलाई टेलिफोन गरेर संसद् स्थगित समेत गर्न लगाएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .