सत्तारुढ दल नेकपा एमालेका सांसद योगेशकुमार भट्टराईले अध्यादेशको बाटोमा मुलुक जाने/नजाने कुरा नेपाली कांग्रेसमा निर्भर रहेको दाबी गरेका छन्।
शुक्रबार संसद् भवनबाहिर सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन्। सरकारले अहिलेसम्म अध्यादेशमा बजेट ल्याउनेबारे नसोचेको पनि उनले बताए।
‘अध्यादेशबाट बजेट ल्याउने सोचेका छैनौँ। अध्यादेशमा मुलुक लान्छ लाँदैन भन्ने कुरा नेपाली कांग्रेसमा निर्भर छ,’ उनले भने।
साथै, उनले शनिबारसम्म नेपाली कांग्रेसका नेताहरूसँगको संवाद सकारात्मक हुने विश्वास लिएको पनि बताए।
‘मलाई विश्वास छ कि आज र भोलिका संवादहरूले नेपाली कांग्रेसले आफ्नो हठ बाट पछाडी हट्ने छ। र हामी सत्तापक्षले पनि केही लचकताका साथ प्रस्तुत हुन्छौँ,’ भट्टराईले भने, ‘हाम्रो भनाई त्यही छ, कुनैपनि समस्याको समाधान गर्न समितिहरू बन्न सक्छन्। छलफलहरू हुन सक्छ।’
साथै, उनले समग्र सहकारीको अध्ययन गर्न समिति बन्न सक्ने बताए।
‘हामी लचक छौँ। तर व्यक्ति केन्द्रित भएर जसरी खास व्यक्तिमा केन्द्रित गर्ने भन्ने नेपाली कांग्रेसको कुरामा सहमत छैनौँ। हामी हुन सक्दैनौँ,’ उनले भने।
Shares
प्रतिक्रिया