जनता समाजवादी पार्टी, नेपालले विभाजित समूहमा लागेका नेता-कार्यकर्तालाई मूलधारमा फर्कन आह्वान गरेको छ।
जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले एक विज्ञप्ति जारी गरी मूलधारमा फर्किन आह्वान गरेका हुन्।
उनले जसपा विभाजनपछि अशोक राईको नेतृत्वमा बेग्लै पार्टी गठन गर्न पुगेका नेताहरूलाई ‘जनताका एजेन्डा बोक्न नसकी फरक पार्टीमा लागेका’ भनी टिप्पणी गरेका छन्।
‘जनताका एजेन्डा बोक्न नसकी फरक पार्टीमा लागेकाहरूसँग गएका पार्टीका विभिन्न तहतप्काका साथीहरूलाई मूलधारमा फर्कन आह्वान गर्दछौं,’ अध्यक्ष यादवले शुक्रबार एक विज्ञप्ति जारी गरी भनेका छन्, ‘जनता समाजवादी पार्टी, नेपाल एक विशिष्ट सोच, सिद्धान्त र एजेन्डा बोकेको पार्टी हो । जसले उत्पीडित राष्ट्रियताको मुक्ति, हिमाल, पहाड र तराई/मधेसबीचको पारस्परिक सम्मान र एकता निर्माण गर्ने संगठन भएकोले पार्टीको काँधमा रहेको ऐतिहासिक अभिभाराप्रति सचेत रहँदै समाजवादी आन्दोलन, पहिचान, संघीयता र लोकतान्त्रिक गणतन्त्र लगायतका सवालमा प्रतिबद्ध भएर पनि भ्रमवश फरक पार्टीमा जानुभएका साथीहरूलाई गलत बाटो छोडेर आफ्नो मूलधारको जनता समाजवादी पार्टी, नेपालमा फर्किन हुन हार्दिक आह्वान गर्दछौं।’
वैशाख ३१ गते राई नेतृत्वको समूह जसपा नेपालबाट विभाजित भई जनता समाजवादी पार्टी नामको बेग्लै पार्टीका रूपमा निर्वाचन आयोगमा दर्ता भएको छ।
लगत्तै उपेन्द्र यादव नेतृत्वको समूह सरकारबाट बाहिरिएको छ भने राई नेतृत्वको समूह सरकारमा सामेल छ।
राई नेतृत्वको दल दर्ता गर्ने आयोगको निर्णयविरुद्ध उपेन्द्र यादवले सर्वोच्च अदालतमा रिट दायर गरेका छन्।
Shares
प्रतिक्रिया