ad ad

राजनीति


सत्तारुढ दलसँग छलफलमा जुटे प्रचण्ड, खबर कुर्दै कांग्रेस

सत्तारुढ दलसँग छलफलमा जुटे प्रचण्ड, खबर कुर्दै कांग्रेस

फाइल तस्बिर


नेपालखबर
जेठ ५, २०८१ शनिबार १४:४२, काठमाडौँ

संसदीय छानबिन समिति बनाउन प्रमुख प्रतिपक्षी दल र सत्तारुढ दलबीच गत बिहीबार भएको मोटामोटी सहमतिको ड्राफ्ट भाँडिएपछि पुनः नयाँ सहमतिको बिन्दु खोज्ने प्रयास भइरहेको छ। 

जसको प्रयासस्वरुप प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शनिबार बिहान कांग्रेस नेताहरूसँग छलफल गरेका छन्। 

संसदीय छानबिन समिति बनाउने कांग्रेसको माग सम्बोधनका लागि प्रधानमन्त्री सकारात्मक भएको कांग्रेस नेताहरूले बताएका छन्।

कांग्रेससँगको छलफलबारे नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र सभामुख देवराज घिमिरेलाई प्रधानमन्त्री प्रचण्डले अहिले ब्रिफिङ गर्न थालेका छन्। 

प्रधानमन्त्रीको सचिवालय स्रोतका अनुसार, अहिले बालुवाटारमा प्रधानमन्त्रीसहित अध्यक्ष ओली र सभामुख घिमिरे छलफलमा जुटेका हुन्।

छलफलमा कानुनमन्त्री पदम गिरी पनि सहभागी छन्। 

बिहान कांग्रेस नेताहरूलाई सदन अवरोध हटाउनेगरी सहमतिको ड्राफ्टमाथि छलफल गरेका प्रधानमन्त्री प्रचण्डले आजै कांग्रेसलाई खबर गर्ने बताएका छन्। 

पुस्तक विमोचनका लागि पार्टी कार्यालय पेरिसडाँडा पुगेका प्रधानमन्त्री प्रचण्ड समय छोट्याएर अहिले बालुवाटार पुगेका हुन्। 

‘समिति बनाउने कुरामा प्रधानमन्त्री हाम्रा नेताहरूसँग सहमत हुनुभएको छ,’ देउवा निकट स्रोतले भन्यो, ‘कुरा सकारात्मक ढंगबाटै अघि बढेको छ, उहाँले सत्तारुढ गठबन्धनमा छलफल गरेर खबर गर्छु भन्नुभएको छ।’

बुढानीलकण्ठ स्रोतले बताए अनुसार, प्रधानमन्त्रीले शनिबार नै सत्तारुढ दलसँगको छलफलबारे खबर गर्ने बताएका छन्। 

‘हामी खबर कुरेर बसेका छौँ,’ स्रोतले थप जिज्ञासा राख्दै प्रश्न गर्‍यो, ‘बरु, उताचाहिँ भेटघाट कतिबेला रहेछ, भयो कि भएन छ?’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .