झापाको बिर्तामाडस्थित गिरिबन्धु टी–स्टेटको जग्गाबारे सत्तारुढ दल नेकपा एमाले र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसबीच आरोप प्रत्यारोपको श्रृङ्खला चलिरहेको छ।
यसैबीच सोमबार बिहान नेकपा एमालेले कांग्रेसलाई दिएको चेतावनपछि यसबारेको बहस झनै पेचिलो बन्दै गएको छ।
एमाले उपाध्यक्ष विष्णु पौडेलले सोमबार बिहान बालुवाटारमा सञ्चारकर्मीसँग कुरा गर्दै आफ्नो पार्टीका अध्यक्षप्रति कांग्रेसले लगाएको आरोपबारे लिखित माफी नमागेसम्म सम्बन्ध राम्रो नहुने चेतावनी दिएका थिए।
साथै, उनले सार्वजनिक रुपमा समेत माफी माग्नुपर्ने बताएका थिए।
‘कांग्रेसले जेजस्ता आरोप लगाइरहेको छ, कांग्रेसले यो आरोपकाप्रति लिखित रुपमा क्षमा र सार्वजनिक रुपमा माफी माग्नुपर्छ। अन्यथा, नेपाली कांग्रेससँगको सम्बन्ध ठिक ढंगले अघि बढ्न सक्दैन। नेकपा एमाले यस्ता अरोप सुनेर बसिरहन सक्दैन,’ एमाले उपाध्यक्ष विष्णु पौडेलले भनेका थिए।
पौडेलको यो अभिव्यक्तिबारे प्रतिक्रिया दिँदै कांग्रेस सांसद जीवन परियारले यसको फायर को बाट खुलेको हो? भन्ने प्रश्न गरेका छन्।
‘नेकपा एमालेको वरिष्ठ नेताबाट यस्तोखालको अभिव्यक्ति सुनेँ। पहिलो कुरा, यसको फायर कसले खोलेको हो?,’ उनले भने, ‘यो भन्दा पहिला नेकपा एमालेको अध्यक्षले नै सार्वजनिक रुपमा नै नेपाली कांग्रेसले गिरिबन्धुको जग्गा बेच्यो भनेर आरोप लगाउनुभएको थियो, त्यो कुरा पनि एक पटक सुनिदिनुपर्यो।’
उनले आफ्नो पार्टीका नेताबाट आएकै अभिव्यक्तिलाई लिएर प्रतिक्रिया दिएको भन्दै एमाले आफैँ कमजोरी प्रस्तुत गरेको बताए।
‘५१ बिगा जमिन कांग्रेसले बेच्यो भन्नुभयो, त्यसको बारेमा पनि छानबिन गरौँ न त। सर्वोच्च अदालतबाट जे फैसला आएको छ त्यसबारे सार्वजनिक रुपमा मिडिया सञ्चारले टिकाटिप्पणी गरेका छन्,’ उनले भने, ‘हाम्रो पार्टीको नेताले जुन अभिव्यक्ति दिनुभएको छ, त्यही अभिव्यक्तिमै प्रतिक्रिया दिनुभएको छ, उहाँहरूले राजनीतिक दललाई जुन खालको आरोप लगाउनुभएको छ, आफैँ कमजोरी प्रस्तुत गर्नुभएको छ कि जस्तो लाग्छ।’
Shares
प्रतिक्रिया