‘नेपाल घुम्न आकी, विदेशको को केटासँग बिहे गरिन् उतैतिर कता हो, नेपाल घुम्न आकी मन्त्री पो भइन्!’
पूर्वप्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यत्ति बोलेको भिडिओ क्लिप्स अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।
सामाजिक सञ्जालमा प्रचार गर्ने व्यक्तिले ओलीको यो टिप्पणी शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठलक्षित भएको दाबी गरिरहेका छन्।
स्रोतका अनुसार गत साता झापामा विद्यालय व्यवस्थापन समिति महासंघका प्रतिनिधिसँगको कुराकानीमा अध्यक्ष ओलीले शिक्षामन्त्री सुमनाविरुद्ध त्यस्तो टिप्पणी गरेका हुन्।
विद्यालय व्यवस्थापन समितिको अनुमतिबिना शिक्षक सरुवा गर्ने निर्देशिका पारित हुनुअघि व्यवस्थापन समिति महासंघका अध्यक्ष गुणराज मुक्तानलगायत प्रतिनिधिहरूले त्यसलाई सच्याउन माग गर्दै ओलीसँग भेटेका थिए।
सुमना राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ पनि हुन्।
उक्त भिडिओ क्लिप्स एक्समा सेयर गर्दै रास्वपाका केन्द्रीय सदस्य गणेश कार्कीले पनि कमेन्ट गरेका छन्।
उनले एमाले अध्यक्ष ओलीलाई ‘लिंगद्वेषी’को आरोप लगाएका छन्। उनैसँग मिलेर प्रचण्ड सरकारमा सहभागी भएको आफ्नो पार्टीको समेत कार्कीले आलोचना गरेका छन्।
‘यिनै लिंगद्वेषी ओलीसँग हल लागेर प्रचण्ड बोक्न पुगेका हामी र हाम्रा साथीले यत्तिको अपमान, व्यंग्य पचाउन बानी पार्नुपर्ने हो सायद’, कार्कीले लेखेका छन्, ‘तर यिनीहरूलाई भन्नचैँ पर्छ- देश पुरुषको मात्र हैन। देश पुरुषको घर र महिलाको माइत हुन्न। विदेश जाने बाध्यता र फर्किने चाहना सबैका लागि बराबर छ।’
रास्वपाबाट समानुपातिक सांसद सुमनाले यही जेठ ८ गते सार्वजनिक गरेको सम्पत्ति विवरणमा आफ्ना श्रीमान् पोल्यान्डका नागरिक पाबल स्वविन्सको रहेको उल्लेख गरेकी छन्।
हेर्नुहोस् त्यो भाइरल भिडिओ क्लिप्स–
यिनै लिङ्गद्वेषी ओलीसँग हल लागेर प्रचण्ड बोक्न पुगेका हामी र हाम्रा साथीले यत्तिको अपमान, व्यङ्ग्य पचाउन बानी पार्नु पर्ने हो सायद । तर यिनीहरुलाई भन्न चै पर्छ, देश पुरुषको मात्र हैन । देश पुरुषको घर र महिलाको माइत हुन्न । विदेश जाने बाध्यता र फर्किने चाहना सबैका लागि बराबर छ । https://t.co/iX6eEYbZUE
— Ganesh Karki (@ganesskarki) May 31, 2024
Shares
प्रतिक्रिया