ad ad

राजनीति


विपद् व्यवस्थापनका सन्दर्भमा नीतिगत सुधार गर्नुपर्नेमा नेताहरूको जोड

विपद् व्यवस्थापनका सन्दर्भमा नीतिगत सुधार गर्नुपर्नेमा नेताहरूको जोड

नेपालखबर
जेठ २४, २०८१ बिहिबार १८:२४, काठमाडौँ

राजनीतिक दलका नेताहरूले विपद् व्यवस्थापनका लागि नीतिगत सुधार गर्नुपर्नेमा जोड दिएका छन्।

बिहीवार गृहमन्त्री रवि लामिछानेले मनसुन पूर्वतयारी तथा प्रतिकार्य सम्बन्धमा राजनीतिक दलसँग राखेको अन्तरक्रियामा बोल्दै नेताहरूले विपद् व्यवस्थापनका लागि नीतिगत सुधार गर्नुपर्नेमा जोड दिएका हुन्।

उनीहरूले सरकारले विपद् व्यवस्थापनको सम्बन्धमा दीर्घकालिन योजना बनाएर काम गर्नुपर्नेमा जोड दिएका छन्।

अन्तरक्रियामा बोल्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले विपद्का कारण घर तथा जमिन गुमाएकाहरूलाई सरकारले जमिन उपलब्ध गराउनुपर्ने कानून बनाउनुपर्ने बताए। उनले सरकारी जमिनलाई विपद् पीडितहरूले मात्रै प्रयोग गर्ने व्यवस्था गर्नुपर्ने बताए।

त्यस्तै उनले कर्णालीमा जाने कर्मचारीहरूले काम नगर्ने गरेको भन्दै यसतर्फ गृहमन्त्रीको ध्यानाकर्षण पनि गराए।

उनले भने ‘सरकारको जमिन पीडितको लागि प्रयोग गर्नुपर्‍यो। कर्मचारी खटिन बाध्य छन् कि छैनन्? जुम्लामा काम नै नगर्ने कर्मचारी लगेर थन्क्याएर लगिदिनु भएको छ। हट भन्न पनि मिल्दैन। काम नै गर्दैन। अहिले कुनै कर्मचारीलाई कारबाही गर्नुपर्‍यो भने त्यसलाई कर्णाली सरुवा गरिदिने छ। यो काम बन्द गर्नुस्। मैले लेक लागेको मानिसलाई उद्धारको कुरा गर्दा उद्धार भएन। घर, खेत, गरिखाने जमिन बगायो अनि ति मान्छे भोलि कहाँ जाने? ज्यान बचाइसकेपछि उसको अधिकार के हो? कानुन ल्याउनुस् एउटा सरकारी जमिनलाई प्रयोग गर्ने।’

नेपाली कांग्रेसका सांसद मोहनबहादुर बस्नेतले सरकारले विपद्मा राहतका लागि दिने रकम पीडित समक्ष पुर्‍याउन प्रक्रियाको नाममा ढिलो गर्नु नहुने बताए। उनले नीतिगत रुपमा केही मिलाउन बाँकी भए विपद् आउनुअघि नै मिलाइसक्न सरकारलाई ध्यानाकर्षण गराए।

जनमत पार्टीका सांसद अब्दुल खानले बाढी, पहिरो भुगोल अनुसार फरक–फरक रुपमा आउने भन्दै सोही अनुरुपको प्रतिकार्य योजना बनाउनुपर्ने बताए। उनले विपद्को दीर्घकालीन समाधान गर्नेगरी अग्रसरता लिन आग्रह गरे।

नेकपा(एकीकृत समाजवादी)का नेता डा. गंगालाल तुलाधरले विपद्को बेलामा स्वयंसेवकका रुपमा खट्ने राजनीतिक दलका कार्यकर्ताहरूलाई कर्तव्यबोध गराउन सक्नुपर्ने बताए। उनले अन्य क्षेत्रबाट जाने स्वयंसेवकभन्दा राजनीतिक क्षेत्रबाट जाने स्वयंसेवकले प्रभावकारी भुमिका देखाउन नसकेको भन्दै यसप्रति राजनीतिक दलहरू पनि सचेत हुनुपर्ने बताए।

नेताहरूले मनसुनबाट आउने विपद्का लागि सम्पूर्ण रुपले तयार रहनका लागि सरकारलाई आग्रह गरेका छन्। विपद् प्रतिकार्यको सम्बन्धमा आफ्नो पार्टीले सकेको सहयोग गर्ने प्रतिवद्धता पनि नेताहरूले जनाएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .