ad ad

राजनीति


रुसी सेनामा नेपाली : नेपालका ५ माग, रुसी उपविदेशमन्त्रीका ३ आश्वासन

रुसी सेनामा नेपाली : नेपालका ५ माग, रुसी उपविदेशमन्त्रीका ३ आश्वासन

परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र रुसी उपविदेशमन्त्री एन्ड्री युरीबीच तेहरानमा भेटवार्ता भयो (तस्बिरः परराष्ट्र मन्त्रालय)


रामकुमार डिसी
असार ११, २०८१ मंगलबार १९:५४, काठमाडौँ

अढाई वर्षदेखि युक्रेनसँग युद्ध लडिरहेको रुसी सेनामा कार्यरत नेपालीलाई लिएर नेपालले रुस सरकारसँग विभिन्न ५ माग राखेको छ।

एसिया सहयोग संवाद (एडीसी) मा भाग लिन इरानको राजधानी तेहरान पुगेका उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रुसी उपविदेशमन्त्री एन्ड्री युरीबीचसँगको भेटवार्तामा नेपालका माग राखेका हुन्।

एसीडी बैठकमा सहभागिता जनाएर मंगलबार नेपाल पर्किएका मन्त्री श्रेष्ठले आफूले रुसी उपविदेशमन्त्रीसँगको भेटमा रुसी सेनामा नेपालीको सहभागितालाई लिएर दह्रोसँग विषय राखेको जानकारी दिए। त्यस्तै उनले रुसी उपविदेशमन्त्रीबाट पनि केही आश्वासन पाएको सुनाए।

नेपालले राखेका ५ माग
रुसी उपविदेशमन्त्रीसँगको ‘साइडलाइन’ वार्तामा मन्त्री श्रेष्ठले रुसी सेनामा नेपालीको सहभागितालाई लिएर त्यहाँका विदेशमन्त्री सर्गेइ लाभरोभसँग फोन वार्तामार्फत र नेपालमा रहेको रुसी दूतावासमार्फत राखिरहेको विषयबारे सुरुमा जानकारी गराएका थिए।

मन्त्री श्रेष्ठले रुसी उपविदेशमन्त्रीसँगको भेटमा नेपाल सरकारले पहिलेदेखि नै राख्दै आएका मागलाई दोहोर्‍याएको बताए। परम्परागतरूपमा सम्झौता भएर केही देश (भारत र बेलायत) मा जानेबाहेक नेपालले अन्य कुनै पनि देशको सेनामा सहभागी हुन आफ्ना नागरिकलाई अनुमति नदिएको श्रेष्ठले रुसलाई पुनः स्मरण गराएका थिए।

पहिलो माग– रुसी सेनामा कति नेपाली छन्, उनीहरूको अवस्था कस्तो छ, उनीहरूबारे विस्तृत जानकारी चाहियो।

दोस्रो माग– सेनामा ज्यान गुमाएकाहरूलाई सकेसम्म आफ्नो परिवारले परम्परागतरूपमा अन्तिम संस्कार गर्न पाउने गरी शव नेपाल पठाउने व्यवस्था गर्नुपर्‍यो। 

तेस्रो माग– युक्रेनसँगको युद्धमा जो घाइते भएका छन्, उनीहरूको उपचारको व्यवस्था गरेर क्षतिपूर्ति पनि दिनुपर्‍यो।

चौथो माग– सम्झौता गरेर जति नेपाली रुसी सेनामा गएका छन्, तिनीहरूलाई परिस्थिति र नेपालसँगको मित्रतालाई ध्यानमा राखेर स्वदेश फिर्ता गराइदिनुपर्‍यो। उनीहरूसँग भएका सबै सम्झौता खारेज गर्नुपर्‍यो।

पाँचौ माग– युक्रेनसँगको युद्धका क्रममा रुसी सेनाबाट लड्ने क्रममा ६ जना नेपाली अहिले युक्रेनको नियन्त्रणमा रहेका छन्। युद्धबन्दीका रूपमा प्राथमिकताका साथ उनीहरूलाई छोड्ने कुरा युक्रेनसँगको वार्तामा पनि राख्नुपर्‍यो।

रुसी उपविदेश मन्त्रीका ३ आश्वासन
भेटका क्रममा रुसी उपविदेशमन्त्रीले रुसी सेनामा रहेका नेपालीलाई स्वदेश फर्काउन आफूहरू तयार रहेको बताएका थिए। तर, त्यसको प्रक्रियाबारे भने अझै कुरा गर्नुपर्ने मत राखेका थिए।

‘उहाँहरू सिद्धान्ततः रुसी सेनामा रहेका नेपालीलाई फिर्ता गर्न सहमति जनाउनुभएको छ,’ मन्त्री श्रेष्ठले भने, ‘तर, त्यसको मोडालिटीका बारेमा अझै कुरा गर्नु छ भन्नुभएको छ।’

त्यस्तै क्षतिपूर्ति दिने सम्बन्धनमा पनि रुसी उपविदेशमन्त्रीले सकारात्मक जवाफ दिएका थिए। ७ जनालाई क्षतिपूर्ति दिइसकिएको कुरा पनि उनले जानकारी गराएका थिए। नेपालले त्यसलाई अझ तीव्र बनाउन आग्रह गरेको थियो।

र, रुसी उपविदेशमन्त्रीले थप केही आश्वासन पनि नेपाललाई दिएका थिए।

पहिलो– नेपालले राखेका मागबारे तुरुन्तै मस्कोस्थित नेपाली राजदूतावासँग समन्वय गरेर काम गर्ने। रुसी सेनामा रहेका नेपालीहरूसँग नेपाली राजदूतलाई व्यक्तिगतरूपमा भेट्न दिने। 

दोस्रो– अन्य आवश्यक कुरामा पनि सहजीकरण गर्ने।

तेस्रो– नेपालले राखेका माग सम्बोधन गर्न रुस सरकारका अन्य निकायमा पनि पहल गर्ने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .